काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार पनि सामान्य घटेको छ। मंगलबार १२ अंकले घटेको नेप्से बुधबार १.६४ अंकले झरेर २६८१.५० बिन्दुमा बन्द भयो। सेन्सिटिभ इन्डेक्स पनि ०.७० अंकले घटेको छ।
सूचक घटे पनि कालिञ्चोक दर्शन, सुपर माई हाइड्रो, सुपर मादी हाइड्रो र आँखुखोला जलविद्युत्का सेयर मूल्यमा १० प्रतिशतसम्म वृद्धि भई सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै कारोबार पनि आँखुखोला जलविद्युत्कै भएको छ।
कुल कारोबारमध्ये १३४ कम्पनीको सेयर मूल्य घट्दा ११३ कम्पनीको बढेको र १३ कम्पनी स्थिर रहेका छन्। समूहगत सूचकमा बैंकिङ, जीवन बीमा, उत्पादन, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समूह घटेका छन् भने विकास बैंक, वित्त, होटल, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूह बढेका छन्।
कारोबार रकम पनि घटेको छ। बुधबार ३२६ कम्पनीका ८० हजार ४२२ कारोबारबाट ७ अर्ब ४९ करोड रुपैयाँ बराबरका १ करोड ६६ लाख ८२ हजार कित्ता सेयर किनबेच भए, जुन मंगलबारको करिब साढे ८ अर्ब रुपैयाँभन्दा कम हो।


विश्व खबर 



















