काठमाडौं– प्रमुख राजनीतिक दलहरूले एक्लाएक्लै चुनाव लड्ने घोषणा गरे पनि उनीहरूबीच ‘अघोषित’ चुनावी तालमेल हुन सक्ने चर्चा बढेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव बढ्दै जाँदा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपाका शीर्ष नेताहरू असुरक्षित महसुस गर्दै भित्री सहकार्यको प्रयासमा रहेको आकलन गरिएको हो ।
तर, ती दलका दोस्रो तहका नेताहरूले भने यस्तो कुनै छलफल नभएको दाबी गरेका छन् ।
प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य असम्भव नभएको संकेत दिएपछि चर्चा थप चुलिएको हो ।
झापा–५ मा ओली, सर्लाही–४ मा गगन थापा र पूर्वी रुकुममा प्रचण्ड चुनावी मैदानमा छन् ।
उनीहरूलाई रास्वपा तथा स्वतन्त्र उम्मेदवारबाट कडा चुनौती देखिएको छ ।
यसै कारण केही क्षेत्रमा एकअर्कालाई सघाउने भित्री रणनीति बन्न सक्ने अनुमान गरिएको छ ।
यद्यपि कांग्रेस उपसभापति पुष्पा भुसाल, एमाले सचिव महेश बस्नेत र नेकपा नेता बेदुराम भुसालले चुनावी तालमेलको सम्भावना अस्वीकार गरेका छन् ।
उनीहरूले संसद् पुनर्स्थापनाको विषयमा भने विभिन्न दलबीच कुराकानी भएको स्वीकार गरेका छन्, तर चुनावी गठबन्धनको सम्भावना नरहेको बताएका छन् ।
उनीहरू सबै प्रधानमन्त्रीका दाबेदार हुन् ।























