काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा –४ मा चुनावी सरगर्मी तीव्र बनेको छ ।
बौद्धिक तथा मध्यमवर्गीय मतदाता बाक्लो मानिने यो क्षेत्रमा यस पटक त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले क्षेत्र परिवर्तन गर्दै सर्लाही–४ रोजेपछि काठमाडौं–४ मा युवा नेता सचिन तिमल्सिनाले उम्मेदवारी पाएका छन् ।
गगनको अनुपस्थितिले कांग्रेस रक्षात्मक अवस्थामा देखिएको छ भने उनको विरासत जोगाउने चुनौती सचिनमाथि छ ।
नेकपा (एमाले)का सचिव राजन भट्टराई गगनको अनुपस्थितिलाई अवसरका रूपमा लिएर पुनरागमनको प्रयासमा छन् ।
एमालेको बलियो संगठन र मत विभाजन उनको मुख्य आधार मानिएको छ ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमको प्रवेशले प्रतिस्पर्धा झन् रोचक बनेको छ, विशेषगरी युवा मतदातामा उनको आकर्षण देखिन्छ ।
२०७९ को नतिजा र समानुपातिक मतपरिणामले कांग्रेस, एमाले र रास्वपाबीच मतान्तर निकै कम रहेको देखाउँछ, जसले यस क्षेत्रलाई स्पष्ट रूपमा त्रिपक्षीय भिडन्तमा रूपान्तरण गरेको छ ।
साथै माओवादी–एकीकृत समाजवादी मिलेर बनेको नेकपा, राप्रपा तथा स्वतन्त्र उम्मेदवारको मत पनि निर्णायक बन्न सक्ने आँकलन छ ।
स्थानीय स्तरमा भने सडक, ढल, बाढी र पूर्वाधार समस्या प्रमुख मुद्दा बनेका छन् ।
पुराना दलप्रति असन्तुष्टि र ‘काम गर्ने नयाँ नेतृत्व’ को खोजी मतदातामा बढ्दो देखिएकाले काठमाडौं–४ को नतिजा यस पटक अप्रत्याशित हुन सक्ने संकेत देखिएको छ ।























