काठमाडौं– रास्वपा सभापति रवि लामिछाने केही दिनयता सार्वजनिक कार्यक्रममा नदेखिएपछि सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजी बढेको छ ।
कतिपयले राजनीतिक कारण देखाए पनि निकट स्रोतका अनुसार उनी खुट्टाको चोटका कारण बाहिर ननिस्किएका हुन् ।
झापामा आयोजित जनसभास्थलतर्फ जाँदा पर्खालमा ठोक्किएर उनको खुट्टामा चोट लागेको थियो ।
सुरुमा सामान्य देखिएको चोट पछि इन्फेक्सनमा बदलिँदा उनी १३ माघमा त्रिवि शिक्षण अस्पताल भर्ना भई तीन दिनपछि डिस्चार्ज भएका थिए ।
हाल उनी घरमै आराम गरिरहेका छन् र दैनिक ड्रेसिङका लागि मेडिकल जाने गरेका छन् ।
घाउ पूर्ण रूपमा निको भइनसकेकाले हिँडडुल गर्न कठिनाइ छ र शौचालय जाँदा समेत सहयोग चाहिने अवस्था रहेको बताइन्छ ।
चिकित्सकले यात्रा नगर्न सुझाव दिएपछि आज चितवन जाने योजना स्थगित भएको छ, तर उनी छिट्टै जाने तयारीमा छन् ।
चितवन पुगे पनि सक्रिय चुनावी प्रचारमा भने सहभागी हुन सक्ने अवस्था छैन, आफ्नै क्षेत्रमा बसेर आराम गर्ने सोचमा रहेका छन् ।























