काठमाडौं– नेपाली कांग्रेस र नेकपा (एमाले)का विशेष महाधिवेशनबाट किनारामा परेका नेतृत्व पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दामा सर्वोच्च अदालतमाथि दबाब बढाउन थालेका छन् ।
दुवै दलले निर्वाचनअघि नै अदालतबाट निर्णय आउनुपर्ने माग गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सार्वजनिक रूपमा अदालतले ढिलाइ नगर्न आग्रह गरेका छन् ।
भदौ २३ को आन्दोलनपछिको हिंसात्मक घटनाक्रम र राजनीतिक संकटपछि राष्ट्रपति रामचन्द्र पौडेलले ‘आवश्यकताको सिद्धान्त’ र ‘विशेषाधिकार’ प्रयोग गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।
पछि कार्की नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको थियो ।
ओलीले हालै एक कार्यक्रममा अदालतले निर्वाचनअघि नै विघटनसम्बन्धी रिटमा फैसला दिनुपर्ने बताएका छन्। विगतमा दुई पटक पुनर्स्थापना भएको नजीरका आधारमा अहिले पनि त्यस्तै निर्णय आउने अपेक्षा उनले व्यक्त गरेका छन्।
उता कांग्रेसका ६५ पूर्व सांसदले पनि पुनर्स्थापनाको मागसहित रिट दर्ता गरेका छन् र छिटो सुनुवाइको दबाब दिइरहेका छन् ।
कानुनविद्हरूका अनुसार संविधानको सोझो व्याख्याले विघटन सदर गर्न कठिन भए पनि पुनर्स्थापनाले राजनीतिक अस्थिरता बढ्न सक्ने जोखिमका कारण अदालत निर्णयमा सावधानी अपनाइरहेको छ ।
निर्वाचन भइसकेपछि ‘ताजा जनादेश’को आधारमा रिट खारेज गर्ने विकल्प अदालतले पर्खिरहेको अनुमान समेत गरिएको छ ।























