काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक घेराबन्दीमा परेको देखिएको छ ।
पुराना ठूला दलहरू मात्र होइन, साना दलहरूले पनि रास्वपालाई सिद्धान्त र विचारविहीन पार्टी भन्दै आलोचना गर्न थालेका छन् ।
नेकपा (माओवादी) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समेत रास्वपाले व्यक्ति केन्द्रित पुँजीवादी संस्कार अंगालेको आरोप लगाएका छन् ।
यता रास्वपा भने बहुमतसहित सरकार बनाउने लक्ष्यसहित देशव्यापी चुनावी अभियानमा सक्रिय छ ।
औपचारिक एजेन्डा सार्वजनिक नगरे पनि विभिन्न सभा–अभियानमार्फत उसले जनसमर्थन बढिरहेको दाबी गरिरहेको छ ।
नेपाली कांग्रेसका गगन थापाले रास्वपा चुनाव जित्नकै लागि बनेको पार्टी भएको टिप्पणी गर्दै नयाँको परिभाषा चुनाव जित्नु मात्रै हो ? भन्ने प्रश्न उठाएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले रास्वपालाई अराजक र विध्वंसकारी प्रवृत्तिको आरोप लगाउँदै आगामी निर्वाचनमा प्रतिस्पर्धा नै नहुने दाबी गरेका छन् ।
नेकपाका संयोजक अध्यक्ष प्रचण्ड पनि पछिल्लो समय रास्वपाप्रति आलोचनात्मक देखिएका छन् ।
यी अभिव्यक्तिहरूले आगामी निर्वाचनमा पुराना दलहरू एकातिर र रास्वपा अर्कोतिर हुने संकेत देखिए पनि रास्वपाले अहिलेसम्म औपचारिक प्रतिवाद भने गरेको छैन ।






















