काठमाडौं- फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ललितपुर–३ मा २० जनाको उमेदवारी परेको छ । जसमध्ये पाँचजना स्वतन्त्र छन् ।
ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाहेक अन्य दलले नयाँ अनुहारलाई उमेदवारका रूपमा अघि सारेको छ । रास्वपाले भने तोसिमा कार्कीलाई नै दोहोर्याएको छ ।
यसअघि २०७९ को चुनावमा उक्त क्षेत्रबाट कार्की नै विजयी भएकी थिइन् । रास्वपा एक्लै मैदानमा उत्रिँदा पनि भारी मतान्तरले कार्की विजयी भइन् ।
संघीय राजधानीसँगै जोडिएको र ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ अहिले राजनीतिक चासोको केन्द्र बनेको छ ।
अघिल्लो निर्वाचनमा अप्रत्याशित परिणाम निकाल्दै रास्वपाले आफ्नो उदय गराएको यो क्षेत्रमा यस पटकको चुनावी माहौल भने केही फेरिएको देखिन्छ । एकातिर अघिल्लो पटक भारी मतले विजयी भएकी डा। तोसिमा कार्की आफ्नो विरासत जोगाउने कसरतमा छिन् भने अर्कोतिर नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार ‘गुमेको साख’ फर्काउने रणनीतिमा छन् ।
२०७९ को चुनावमा नेपाली कांग्रेसले तत्कालीन नेकपा (माओवादी केन्द्र)लाई सघाएको थियो । माओवादीबाट उमेदवार बनेकी पम्फा भुसालले हार बेहोरेकी थिइन् ।
कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का अमृत खड्कालाई भारी मतान्तरले हराएकी थिइन् ।
फागुन २१ गते हुने चुनावका लागि यो पटक एमालेले नयाँ अनुहार सन्दन थापा मगरलाई उमेदवार बनाएको छ ।
यसपटक भुसाल कुनै पनि निर्वाचन क्षेत्रबाट उमेदवार बनेकी छैनन् । उनले नयाँ अनुहारलाई अवसर दिने भन्दै सामाजिक सञ्जालमा चुनाव नलड्ने घोषणा नै गरेकी थिइन् ।
उनले २०६४ को संविधानसभा निर्वाचन र २०७४ प्रतिनिधिसभा चुनावमा जित हासिल गरेकी थिइन् । तर, २०७९ को चुनावमा तोसिमासँग हार बेहोरेकी हुन् ।
विभिन्न २० घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले राजकाजी महर्जनलाई उमेदवार बनाएको छ । महर्जन प्रदेशसभा निर्वाचन २०७४ मा ललितपुर ३ (क) बाट विजयी भएका थिए । कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठलाई उमेदवारका रूपमा अघि सारेको छ ।
२०७९ को समानुपातिक मतलाई आधार मान्दा फागुन २१ गते दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिँदा प्रत्यक्ष फाइदा रास्वपालाई नै पुग्ने देखिन्छ ।
तोसिमासँग अन्य को–को छन् चुनावी प्रतिस्पर्धा ?
ललितपुर-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले सविनकुमार खड्का, जनता समाजवादी पार्टी, नेपालले कृष्णदेवी महर्जन, नेपाल मजदुर किसान पार्टीले रमिला महर्जनलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । राष्ट्रिय जनमोर्चाले निल गोविन्द महर्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीले विष्णुराज खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनले दिलकुमार महर्जन, संयुक्त नागरिक पार्टीका तर्फबाट श्यामबहादुर राई उमेदवार बनेका छन् । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)ले यज्ञप्रसाद पन्त, श्रम संस्कृति पार्टीबाट ऋतुवर्तन राई, नेकपा (माओवादी)को तर्फबाट खगेन्द्र महर्जन, उज्यालो नेपाल पार्टीले विजय पन्तलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ ।
ललितपुर–३ मा पाँचजना स्वतन्त्र उमेदवारले उमेदवारी दर्ता गराएका छन् । अशोजकुमार महर्जन, अन्जु कारन्जीत (थापा), विमर्श मिश्र, रुपेश साह र राधेश्याम खड्का स्वतन्त्र उमेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।
प्रमुख दलहरू (एमाले, कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी) एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् ।






















