काठमाडौं– सन् २०२६ मा हुने टी–२० विश्वकपमा नेपाली टोलीका खेलप्रति उल्लेखनीय उत्साह देखिएको छ ।
मुम्बईको वानखेडे स्टेडियममा हुने नेपालका खेलहरूको टिकट बिक्री भारतपछि दोस्रो स्थानमा रहेको बेंगलोर मिररले जनाएको छ ।
मिररका अनुसार, भारतपछि सबैभन्दा धेरै टिकट नेपाली टोलीका खेलका लागि बिक्री भइरहेका छन् ।
समूह चरणका चारै खेल वानखेडेमा खेल्ने नेपालले विश्वकप तयारीका लागि हाल मुम्बईमा अभ्यास गरिरहेको छ ।
श्रीलंकाको ए टोलीसँग अभ्यास खेल खेलेपछि नेपाल मुम्बई पुगेको हो, जहाँ एमसीए प्रेसिडेन्ट ११ विरुद्ध तीन अभ्यास टी–२० खेल खेल्ने तालिका छ ।
समूह ‘सी’ मा रहेको नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग र अन्तिम खेल फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ ।
शीर्ष दुईमा परे नेपाल सुपर–८ मा पुग्नेछ ।


विश्व खबर 



















