काठमाडौं– प्रतिनिधिसभा निर्वाचनमा केही उम्मेदवारले भोटसँगै ‘नोट’ पनि माग्न थालेका छन् ।
रञ्जु दर्शना, गणेश कार्की, गोमा तामाङ (सरिन), हर्क साम्पाङ, महावीर पुनलगायत उम्मेदवारले सामाजिक सञ्जालमार्फत बैंक खाता र क्यूआर कोड सार्वजनिक गर्दै चन्दा संकलन गरिरहेका छन् ।
रास्वपाकी उम्मेदवार रञ्जु दर्शनाले सुरुमा व्यक्तिगत खाताबाट सहयोग मागे पनि आचारसंहिताबारे अन्योल भएपछि क्यूआर हटाएर पुनः राखेकी थिइन् ।
निर्वाचन आचारसंहिता, २०८२ अनुसार उम्मेदवारले छुट्टै बैंक खाता खोली निर्वाचन खर्च गर्नुपर्ने र आय–व्यय विवरण बुझाउनुपर्ने व्यवस्था छ ।
तर, सबै उम्मेदवारले यो व्यवस्था पालना गरेका छैनन् ।
हर्क साम्पाङ र गणेश कार्कीले पार्टी वा व्यक्तिगत पुरानै खातामार्फत चन्दा मागेका छन् भने गोमा तामाङ र महावीर पुनले निर्वाचन प्रयोजनका लागि छुट्टै खाता खोलेको बताएका छन् ।
उम्मेदवारहरू पारदर्शिताका लागि सामाजिक सञ्जालमै बैंक विवरण राखिएको दाबी गर्छन् ।
निर्वाचन आयोगले आर्थिक सहयोग संकलन गर्न पाइने तर दबाब दिएर माग्न नपाइने स्पष्ट पारेको छ ।
पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवका अनुसार यस्तो अभ्यासले उम्मेदवारलाई जनताप्रति जिम्मेवार बनाउने सन्देश दिन सक्छ भने केही मतदातामा नकारात्मक प्रभाव पनि पर्न सक्छ ।























