काठमाडौं– विवादका कारण पटक–पटक चर्चामा आएका डा. कमल (निकोलस) भुसालले फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्रको मस्यौदा सार्वजनिक गरेका छन् ।
‘जेनजीको जुत्ता’ चुनाव चिह्नसहित बुटवल–२ बाट उम्मेदवार बनेका उनले सन् २१०० सम्म पृथ्वीलाई ‘स्वर्ग’ बनाउने महत्वाकांक्षी लक्ष्य अघि सारेका छन् ।
घोषणापत्रमा उनले २०९० सम्म नेपाललाई ‘हरित स्वर्ग’ बनाउने, एक महिनाभित्र जेनजीका सबै माग पूरा गर्ने, तीन महिनाभित्र सहकारी र मिटरब्याज पीडितको बचत फिर्ता गर्ने दाबी गरेका छन् ।
एक वर्षभित्र शिक्षा, स्वास्थ्य, न्याय, खानेपानी र बिजुली निःशुल्क, तीन वर्षभित्र रोजगारी सिर्जना गरी सबै ऋण तिर्ने, पाँच वर्षमा तीन हजार खर्बको अर्थतन्त्र बनाउने र सबै नेपालीलाई करोडपति बनाउने योजना उल्लेख छ ।
संघीय संरचनामा असहमति जनाउँदै प्रदेश सभा खारेज, शिक्षा–स्वास्थ्य राज्यको जिम्मा, नेपाललाई वैदिक सनातन हिन्दू, बुद्ध र किरात राष्ट्र घोषणा गर्ने प्रस्ताव पनि घोषणापत्रमा समेटिएको छ ।
साथै, रूपन्देहीलाई विकासको केन्द्र बनाउने, पर्यटनमार्फत एक वर्षमा एक करोड पर्यटक भित्र्याउने र आत्मनिर्भर नेपाल अभियान चलाउने प्रतिबद्धता उनले गरेका छन् ।























