काठमाडौं– टीकापुर हत्या घटनाको जगमा पहिचानको नारा दिएर २०७९ को स्थानीय, प्रदेश सभा र प्रनिनिधि सभाको निर्वाचनमा जित हात पारेर क्षेत्रीय शक्तिका रूपमा पश्चिम तराईमा उदाएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) तीन वर्षमै अनेक टुक्रामा विभाजित भएको छ ।
साबिक नाउपामा रहेका शीर्ष नेताहरू नै आसन्न निर्वाचनमा आइपुग्दा ६ वटा अलग–अलग पार्टीबाट उम्मेदवार बनेका छन् ।
साबिक नाउपाका संरक्षक रहेका रेशम चौधरी अलग पार्टीका उम्मेदवार, अध्यक्ष रहेकी रेशमपत्नी रञ्जिता श्रेष्ठ चौधरीले नाउपालाई नेकपामा विलय गराइन् ।
नाउपाबाट अलग भएर नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका रेशमको उम्मेदवारीलाई भने निर्वाचन आयोगले बदर गरिसकेको छ ।
टीकापुर नगरपालिकामा नगर प्रमुख समेत रहेका रामलाल डगौरा थारु नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन् भने अर्का नेता प्रदीप चौधरी उज्यालो नेपालबाट उम्मेदवार बनेका छन् ।
नाउपाकै एक टुक्रा श्रम संस्कृति पार्टीमा गएको छ । श्रम संस्कृति पार्टीबाट सरस्वती चौधरी उम्मेदवार बनेकी छिन् ।
उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका दामोदर पण्डितको समूह रास्वपामा विलय भएको छ । कैलाली १ मा रास्वपाले साविक नाउपाकै कोमल ज्ञवालीलाई उम्मेदवार बनाएको छ ।
रुपा चौधरी आम जनता पार्टीबाट उम्मेदवार बनेकी छिन् ।
रेशम–रञ्जिता दम्पतीबीच चर्किएको सत्ता र शक्ति संघर्षले पश्चिम तराईका थारु समुदायको जगमा उदाएको नागरिक उन्मुक्ति पार्टीको जसरी अकस्मात् उदय भयो, त्यसै गरी छोटो समयमा सो पार्टी विलयको अवस्थामा पुगेको हो ।























