images
images
  • १९ पटक मन्त्री बनेका सरद सिंह भण्डारीलाई अब विरासत जोगाउनै चुनौती

    काठमाडौं- महोत्तरी क्षेत्र नम्बर २ मा आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लिएर अन्य क्षेत्रको तुलनामा फरक खालको चर्चा सुरु भएको छ ।

    नेपाली राजनीतिमा पुस्तान्तरणको बहस प्रारम्भ भएको वेला हेभिवेट नेता सरद सिंह भण्डारीको विषयलाई लिएर चुनावी सरगर्मी ह्वात्तै बढेको छ । निर्वाचन आयोगका अनुसार यहाँ ३७ जनाको मनोनयन दर्ता भएको छ । प्रायः नयाँ अनुहार भए पनि भण्डारी भने पुरानै अनुहार हुन् ।

    १९ पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका नेता भण्डारीलाई यसपटक विपक्षी उम्मेदवारहरुले यही विषयलाई कमजोर बनाउने हतियार बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा) बाट सरद सिंह भण्डारीसँगै नेकपा एमालेबाट कसिफ नदाफ, नेपाली कांग्रेसबाट किरण यादव, नेपाली कम्युनिस्ट पार्टीबाट लक्ष्युमन कुमार यादव, रास्वपाबाट दीपक कुमार साह, राप्रपाबाट रामलखन साह, जनमत पार्टीबाट जय कुमार पाण्डेयलगायत उम्मेदवारहरू चुनावी मैदानमा छन् ।

    २०३८ सालदेखि निर्वाचनमा सहभागी हुँदै आएका भण्डारीले अहिलेसम्म एकपटक मात्र निर्वाचनमा पराजय व्यहोरेका छन् । मधेशका सबैभन्दा चतुर राजनीतिज्ञमध्ये एक मानिने भण्डारीलाई विपक्षीहरूले जुनसुकै नारा बनाए पनि पुरानो विरासत यसपटक पनि फर्किनेमा उनी ढुक्क देखिन्छन् ।

    अघिल्लो निर्वाचनमा लोसपाबाट उम्मेदवार बनेका भण्डारीले सोही क्षेत्रमा १४ हजार ७० मतको फराकिलो अन्तरले निकटतम प्रतिस्पर्धी तमलोपाका विजय सिंहलाई पराजित गरेका थिए ।

    संगठनात्मक रूपमा एक्लै लड्दा पनि उल्लेख्य मत ल्याएको र यसपटक जसपा एकीकृत भइसकेकाले आफूलाई खासै प्रतिस्पर्धी नरहेको दाबी भण्डारीको छ ।

    तर पुस्तान्तरणको बहस चर्किँदै गएको र यसपटक अवस्था भण्डारीले दाबी गरेजस्तो नहुन सक्ने स्थानीयहरूको भनाइ छ । यसैबीच पुराना अनुहारभन्दा नयाँ अनुहारप्रति अपेक्षा बढेको र भण्डारीले दाबी गरेजस्तो सहज नहुने आकलन पनि हुन थालेको छ ।

    उमेरले ७१ वर्ष पुगेका भण्डारीले यो उम्मेदवारी अन्तिम पटक भएको भन्दै मतदातालाई फकाइरहेका छन् । तर कतिपयले भने आश्वासन देखाएर सत्ताको भर्‍याङ चढ्ने र पछि स्थानीय मुद्दा बिर्सिने गरेको आरोप पनि लगाउँदै आएका छन् ।

    लगातार आफू उठ्दै आएको क्षेत्रमा बलियो पकड बनाउँदै आएका भण्डारीले २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं. २ बाट चुनाव लडेका थिए । त्यस वेला उनी र किरण यादवबीच प्रतिस्पर्धा भएको थियो । यादवले १३ हजार ९७४ मत ल्याउँदा भण्डारीले ३० हजार ७२२ मत प्राप्त गरेका थिए ।

    लगातार ह्याट्रिक जित हासिल गर्दै आएका भण्डारीले आफूलाई कोही प्रतिस्पर्धी नरहेको बताए पनि नयाँ शक्तिसँग भने डर रहेको उनी निकट नेताहरू बताउँछन् । देशभर रास्वपाको लहर चलेको सन्दर्भमा सो पार्टीका उम्मेदवार दीपक कुमार साहले बलियो चुनौती दिन सक्ने स्थानीयहरूको आकलन छ ।

    कुल १५ जना उम्मेदवार विभिन्न दलबाट चुनावी मैदानमा छन् भने बाँकी सबै स्वतन्त्र उम्मेदवार हुन् ।

    सधैँ उच्च मनोबलका साथ निर्वाचनमा होमिने भण्डारी अघिल्ला वर्षहरूको तुलनामा यसपटक थप आक्रामक ढंगले चुनावी अभियानमा लागेका छन् ।

    अहिले जनमानसमा नयाँलाई एकपटक मौका दिने कि अनुभवी र उच्च प्रोफाइलका नेतालाई नै साथ दिने भन्ने विषयमा दोधार देखिन्छ । प्रचारप्रसारको माहोल अझै स्पष्ट नबनिसकेको अवस्थामा हेभिवेट नेतालाई साथ दिए मन्त्रीसम्म बन्न सक्ने र सो तहबाट धेरै काम गर्न सकिने बुझाइ पनि रहेको छ ।

    मुद्दाका दृष्टिले नयाँ भनिएका रास्वपाभन्दा पुराना उम्मेदवारहरूकै एजेन्डा बढी गहकिला देखिन्छन् । लामो समयको राजनीतिक अनुभवलाई यसपटक समाज रूपान्तरणमा फरक ढंगले प्रयोग गर्ने विश्वास पुराना नेताहरूले दिलाउँदै आएका छन् ।

    बालेनलाई प्रधानमन्त्री बनाउँदा मधेशको छोरा नै प्रधानमन्त्री बन्ने’ नाराबाहेक उम्मेदवारले स्थानीयलाई नयाँपन दिन नसकेको स्थानीयहरूको गुनासो छ ।

    बरु १०औँ पटक उम्मेदवार बनेका भण्डारीका प्रतिवद्धता र एजेन्डाले नै स्थानीय तहमा उत्साह सिर्जना गरेको स्थानीयहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images