काठमाडौँ — प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा प्रदेशसभा सदस्यहरू कार्यकाल पूरा नहुँदै पद त्यागेर संघीय संसद् प्रवेशतर्फ लागेका छन् । प्रदेश सांसददेखि पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री र सभामुखसम्मका नेताहरूले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएका छन् ।
बागमती प्रदेशबाट मात्रै आधा दर्जन प्रदेशसभा सदस्यले २१ फागुनको निर्वाचन लक्षित गर्दै पदबाट राजीनामा दिएका छन् । तीमध्ये पाँच जना विभिन्न दलबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । बागमती प्रदेशसभा सचिवालयका अनुसार उनीहरूको राजीनामा ५ माघमा स्वीकृत भइसकेको छ ।
प्रदेश सांसदबाट प्रतिनिधिसभा उम्मेदवार बन्नेमा एमालेका अमनकुमार मास्के (काठमाडौँ–६), प्रकाश श्रेष्ठ (काठमाडौँ–७), नेकपाका बसन्तप्रसाद मानन्धर (काठमाडौँ–७), युवराज दुलाल (सिन्धुपाल्चोक–२) तथा राप्रपाबाट निर्वाचित सुनील केसी (काठमाडौँ–२) छन् । केसी यस पटक रास्वपा प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।
मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतीशकुमार सिंहले पनि प्रदेशसभा सदस्य पद छाडेर प्रतिनिधिसभा निर्वाचन रोजेका छन् । उनी स्वाभिमान पार्टीबाट सप्तरी–२ मा उम्मेदवार बनेका छन् । जनमत पार्टी त्यागेपछि उनले प्रदेशसभा खारेजीसम्बन्धी बहस तीव्र बन्दै गएको भन्दै संघमै गएर प्रदेशको पक्षमा आवाज उठाउने दाबी गरेका छन् ।
प्रदेशसभा सदस्य रहेका कृष्णा केसी, धनबहादुर मास्की, धर्मबहादुर चौधरी, भरतप्रसाद साह, रहबर अन्सारी, रेवतीरमण भण्डारी, भक्तिप्रसाद सिटौला लगायतले पनि आ–आफ्नो पद त्यागेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् ।
तर, कार्यकाल बाँकी छँदै पद छाड्नु मतदाताप्रतिको बेइमानी भएको अधिवक्ता मदन दाहालको टिप्पणी छ । विश्लेषक मनिकर कार्कीका अनुसार यसले प्रदेशसभाको औचित्यमाथि प्रश्न उठाउनुका साथै जनताको मत र राज्यको लगानी दुवैको अवमूल्यन गरिरहेको छ ।























