images
images
  • हिन्दूराज्य र राजसंस्थाप्रति ओलीका अभिव्यक्तिले ओली–लिङ्देन गठबन्धनमा ब्रेक, बोलचाल बन्द

    काठमाडौं– नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनसँग चुनावी सहकार्यका लागि पटक–पटक टेलिफोन सम्पर्कको प्रयास गरेको खुलेको छ ।

    झापा–५ बाट ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साह उम्मेदवार बनेपछि ओली राप्रपासँग तालमेलको सम्भावना खोज्न थालेका हुन् ।

    तर, ओलीको पटक–पटकको फोन प्रयासलाई लिङ्देनले बेवास्ता गरेको राप्रपाका एक स्थानीय नेताले दाबी गरेका छन् ।

    ती नेताका अनुसार राप्रपाले चुनावअघि कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट नीति लिइसकेको छ ।

    यही कारणले ओलीको प्रस्तावप्रति लिङ्देनले चासो नदेखाएको उनको भनाइ छ ।

    उनले भने, ‘ओलीजीले दुई–तीन पटक फोन गरेका थिए । अध्यक्षज्यूले कुरा बुझिसकेको हुनाले फोन उठाउनु भएन । चुनावअघि गठबन्धन नगर्ने हाम्रो नीति स्पष्ट छ । सायद इतिहासमै पहिलोपटक सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका छौँ । जित–हार आफ्नो ठाउँमा छ, तर अपवित्र गठबन्धनको हामी सधैँ विपक्षमा छौँ ।’

    झापा–५ मा रास्वपा उम्मेदवार साहप्रति देखिएको जनसमर्थनले ओलीलाई दबाबमा पारेको एमाले नेताहरू बताउँछन् ।

    केही दिनअघिसम्म राप्रपासँग सहकार्यप्रति खास चासो नदेखाएका ओली पछिल्लो ‘ग्राउन्ड रियालिटी’ बुझ्दै जाँदा अघिल्ला निर्वाचनझैँ राप्रपाको सहयोग आवश्यक पर्ने निष्कर्षमा पुगेको एमालेभित्रै चर्चा छ ।

    यहीबीच एमाले तथा उसका भातृ संगठनका नेता–कार्यकर्तासँगै कांग्रेसका केही नेताहरू समेत राजीनामा दिएर रास्वपामा आबद्ध हुन थालेपछि ओली थप गम्भीर बनेका स्रोतको दाबी छ ।

    गठबन्धनको सम्भावना खोज्ने क्रममा ओलीले राप्रपाबाट निर्वाचित दमकका मेयर रामकुमार थापासँग पनि छलफल गरिसकेको एमाले नेताहरू बताउँछन् ।

    सो भेटघाट सौहार्दपूर्ण भएको उनीहरूको भनाइ छ । निर्वाचन प्रचारका सिलसिलामा झापा पुगेका ओलीलाई मेयर थापाले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको आफ्नो घरसमेत अवलोकन गराएका थिए ।

    सो अवसरमा मेयर थापाले ‘आफ्नो घर जलाउनेहरूले नै बालेन साहलाई घर भाडामा दिएको’ भन्दै गुनासो गरेका थिए । जवाफमा ओलीले ‘यिनीहरू एकै हुन्,’ भनेका थिए । यसले राप्रपा मेयरको झुकाव रास्वपा उम्मेदवारभन्दा ओलीतर्फ देखिएको एमाले नेताहरूको बुझाइ छ ।

    एमाले नेताहरूका अनुसार सो कुराकानीमा मेयर थापाले व्यक्तिगत रूपमा ओलीलाई सघाउन तयार रहेको संकेत गरे पनि औपचारिक निर्णयका लागि अध्यक्ष लिङ्देनसँग गहिरो छलफल आवश्यक रहेको बताएका थिए ।

    तर, लिङ्देनले यसपटक ओलीको फोन नै नउठाएर स्पष्ट सन्देश दिएको उनीहरूको भनाइ छ ।

    ओली र लिङ्देनबीच सहकार्यको प्रयास यसअघि पनि भएको थियो । उम्मेदवारी मनोनयनअघिसम्म ओलीले लिङ्देनको निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार होल्ड गरेर राखेका थिए। तर, अन्ततः संवाद हुन नसकेपछि उम्मेदवार खडा गरिएको एमाले स्रोतले जनाएको छ ।

    यता राप्रपाले पनि ओलीको निर्वाचन क्षेत्रमा लक्ष्मीप्रसाद संग्रौलालाई उम्मेदवार बनाइसकेको छ ।

    यद्यपि लिङ्देनको ओलीसँग सहकार्य गर्ने चाहना पूर्णतः समाप्त भएको भने होइन । विगतका निर्वाचनमा ओलीको सहयोगमा जित्दै आएका लिङ्देन यसपटक पनि सहकार्य दोहोर्‍याउन इच्छुक थिए । तर, हिन्दूराज्य र राजसंस्थाबारे ओलीको स्पष्ट असहमतिको दृष्टिकोणका कारण राप्रपाभित्र गठबन्धनमा ‘ब्रेक’ लागेको नेताहरू बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images