images
images
  • कोइला बालेर सुत्दा निस्सासिएर ३८ दिनको शिशुको मृत्यु

    काठमाडौं– जाडोमा कोठा न्यानो पार्न कोइला बालेर सुत्दा सुर्खेतको वीरेन्द्रनगरमा ३८ दिनको शिशुको ज्यान गएको छ ।
    बेहोस बनेका आमा र भतिजीको उपचारपछि होस खुलेको छ ।

    प्रहरीका अनुसार भेरीगंगा नगरपालिका–२ घर भएकी ३२ वर्षीया तारा बुढा परिवारसहित वीरेन्द्र्रनगर नगरपालिका– १२, बिरुवाबारीमा डेरा गरी बस्दै आएकी छिन् ।

    चिसो बढेपछि कोठा न्यानो पार्न बुधबार राति कोइला बालेर सुतेकी उनी र उनकी भतिजी १३ वर्षीया संगम बुढा बिहीबार बेहोस अवस्थामा फेला परे ।

    ताराकी ३८ दिनकी शिशु प्रतीक्षा बुढा भने मृत फेला परेकी हुन् । ‘सुतेको कोठामा कोइला बालेको फेला परेको छ । धुवाँ जाने कतै ठाउँ नभएकाले गुम्सिएर ३८ दिनको बच्चा (छोरा) को मृत्यु भएको र दुईजना बेहोस भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

    उनका अनुसार बिहीबार बिहान ९ : ४५ बजेसम्म पनि कोठा बन्द रहेको देखेपछि घरबेटी मानबहादुर चन्दले बोलाउन जाँदा ताराका १० वर्षीय छोरा प्रकाश बुढाले ढोका खोलेका थिए । ‘धेरैबेर ढोका ढकढक्याएपछि १० वर्षको बच्चाले ढोका खोलेका रहेछन् । उनी निन्द्रामा रहेछन्,’ एसपी शाहीले भने, ‘ढोका खोल्दा संगम र आमा बेहोस अवस्थामा फेला परे ।

    ३८ दिनको बच्चा प्रतीक्षा मृत फेला परिन् ।’ घटनाको बारेमा घरबेटीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल लगेको थियो ।

    तर, त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको थियो । तारा र संगमको होस खुलेको र उपचार भइरहेको बाँके प्रहरीले जनाएको छ । ताराका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक रहेको खुलेको एसपी शाहीले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images