images
images
  • एनपिएल : चार जना बने लुम्बिनी च्याम्पियनका नायक, को–को हुन् ?

    काठमाडौं चामत्कारिक प्रदर्शन गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) उपाधि जितिसकेको छ । पहिलो संस्करणमा पुछारमा रहेको लुम्बिनी दोस्रो अवसरमै आफूलाई प्रमाणित गर्न सफल भयो । कप्तान रोहितकुमार पौडेलले सानदार प्रदर्शन गर्दै टोलीलाई पछिल्लो पाँच खेलमा लगातार जित दिलाए ।

    लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सलाई फाइनलमा, दोस्रो स्थानमा रहेको विराटनगरलाई क्वालिफायर २ तथा तेस्रो स्थानमा रहेको काठमाडौं गोर्खाजलाई इलिमिनेटरमा स्तब्ध बनाउँदै लुम्बिनी च्याम्पियन बन्यो । लिग चरणमा सातमध्ये चार खेल जितेर टोली चौथो हुँदै प्ले अफमा स्थान बनाउन सफल भएको थियो ।

    टोलीको यो यात्रामा कप्तान रोहितले सानदार प्रदर्शन गरे । रोहितसँगै शेर मल्ल, विदेशी खेलाडीद्वय रुबेन ट्रम्पलम्यान र डार्सी सटले उत्कृष्ट प्रदर्शन गरे ।

    यी चारै खेलाडी लुम्बिनी च्याम्पियन बन्दाका मुख्य नायक हुन् । त्यस्तै, सन्दीप जोरा, दिलीप नाथ, तिलक भण्डारी, दिनेश अधिकारी, अभिशेष गौतम, निरोसन डिकवेलजस्ता खेलाडीको प्रदर्शन पनि महत्वपूर्ण रह्यो ।

    रोहितकुमार पौडेल (रन : २७६, विकेट : १०)

    एनपिएलले नयाँ च्याम्पियन लुम्बिनी लायन्स पाउँदा कप्तान रोहितको प्रदर्शन उच्च रह्यो । राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले टोलीलाई संकट आइलाग्दा रन मात्रै बनाएनन्, विकेट पनि लिए । फाइनलमा ह्याट्रिक विकेट लिए । यस्तो अवसर विश्व क्रिकेटमा कमै आउँछ । रोहितले फाइनलमा ह्याट्रिक गर्दा समग्रमा १० विकेट लिए । यता, अर्धशतक नबनाए पनि उनले २७६ रन बनाएका छन् । रोहित प्रतियोगितामा सर्वाधिक रन बनाउने दोस्रो खेलाडी हुन् । त्यस्तै, पहिलो नेपाली खेलाडी बने । २३ वर्षीय दायाँहाते ब्याटरले उत्कृष्ट प्रदर्शनसँगै ६० लाखबराबरको कार र पल्सर बाइक प्राप्त गरेका छन् । यो प्रतियोगितासँगै रोहितले एकै वर्षमा जिन्सी पुरस्कारसहित करिब एक करोड हात पारेका छन् । रोहित एकदिवसीय टी२० विश्वकपका कान्छा कप्तानसमेत हुन् ।

    शेर मल्ल : (विकेट : १७, रन : ४६)

    शेर मल्ल एनपिएल उपाधि लगातार जित्ने एक मात्रै खेलाडी हुन् । गत सिजन जनकपुर बोल्ट्स च्याम्पियन हुँदा शेर टोलीका मुख्य खेलाडी थिए । टोली च्याम्पियन भए पनि उनी रिटेन हुन सकेनन् । मिनी अक्सनबाट लुम्बिनीले क्याटगोरी ‘बी’का शेरलाई दश लाखमा प्राप्त गरेको थियो । लगातार भाग्यमानी बन्दै शेर दोस्रोपटक च्याम्पियन बन्न सफल भएका छन् । यसपटक उनको प्रदर्शन निकै उच्चस्तरको रह्यो । राष्ट्रिय टोलीमा स्थापित भएका बलरहरूलाई पछि पार्न सफल भए । नौ इनिङ्समा सर्वाधिक १७ विकेट हात पारे । इमर्जिङ प्लेयर घोषित हुँदै पल्सर बाइक पाएका छन् । धनगढीका २३ वर्षीय खेलाडीले लगातार दुई पटक नै आफ्नो प्रदेशलाई उपविजेता बनाउन भूमिका खेले । शेरले यसपटक विराटनगर, काठमाडौं र सुदूरपश्चिमविरुद्धको महत्वपूर्ण खेलमै तीनतीन विकेट लिएका थिए ।

    डार्सी सर्ट : (रन : २५६)

    अस्ट्रेलियन अनुभवी ब्याटर डार्सी सर्टले पहिलोपटक एनपिएल खेलेका हुन् । ३५ वर्षीय बायाँहाते ओपनरले सानदार प्रदर्शन गर्दै टोलीलाई च्याम्पियन नै बनाए । टोलीको च्याम्पियन यात्रामा डार्सीले आफ्नो अनुभवको भरपुर सदुपयोग गरे । डार्सीले एक अर्धशतकसहित प्रतियोगितामा २५६ रन बनाए । उनी सर्वाधिक रन बनाउने चौथो खेलाडी बन्दा १० इनिङ्समा २६ चौका र नौ छक्का हिर्काएका थिए । प्रतियोगितामा पोखरा एभेन्जर्सविरुद्ध मात्रै दोहोरो अंकमा रन बनाउन सकेनन् । विराटनगरविरुद्ध लिग चरणमा पाँच विकेटको जित निकाल्दा ५७ रन बनाए । उनको अर्धशतकसँगै टोलीले सहज जित निकालेको हो । त्यसबाहेक दोस्रो क्वालिफायरमा विराटनगरविरुद्ध नै ४१ बलमा ४५ रनको योगदान गरेका थिए । डार्सीले दुई वर्ष अस्ट्रेलियाको टिमबाट खेल्दा एकदिवसीयमा इंग्ल्यान्ड र टी२० मा न्युजिल्यान्डविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

    रुबेन ट्रम्पलम्यान : (विकेट : १५, रन : ६५)

    नामिबियाका २७ वर्षीय तीव्र गतिका बलर रुबेन ट्रम्पलम्यानले पहिलोपटक एनपिएल खेलेका हुन् । उनी पहिलो अवसरमै लुम्बिनीलाई च्याम्पियन बनाउन सफल भए । योसँगै आफ्नो करिअरमै उनले पहिलो फ्रेन्चाइज उपाधि हात पारेका छन् । प्रतियोगिताअघिसम्म उनलाई कुनै पनि टोलीले ध्यान दिएका थिएनन् । तर, प्रतियोगिता चल्दै गर्दा विपक्षीहरूका लागि रुबेन धातक बन्दै गए । रुबेनले प्रतियोगिताको १० इनिङ्समा १५ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा चौथो स्थानमा रहे । उनको इकोनोमिक प्रदर्शन ६.७२ रह्यो । फाइनलमा भने उनले अविस्मरणीय प्रदर्शन गरे । २.१ ओभर बलिङ गरेका रुबेनले ३ रन मात्रै दिए भने तीन विकेट लिएका छन् । उनले फाइनलमा सुदूरपश्चिम र पहिलो खेलमा चितवनविरुद्ध समान तीन विकेट हात पारेका थिए । पोखरा र कर्णाली याक्सविरुद्ध मात्रै विकेटविहीन भए । त्यस्तै, उनले ६५ रन पनि बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images