काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले दृष्टिविहीन क्रिकेट संघ (क्याब) लाई १० लाख नगदले पुरस्कृत गरेको छ । हालै पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा नेपाली उपविजेता भएपछि क्यानले क्याबलाई सो रकमले पुरस्कृत गरिएको हो ।
कीर्तिपुरस्थित त्रिवि रंगशालामा लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीचको खेल हुनअघि क्यानका सचिव पारस खड्काले क्याबलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।
श्रीलंकामा गत आइतबार भएको फाइनल खेलमा नेपाली दृष्टिविहीन महिला क्रिकेट टोली ३ विकेटले पराजित भएको थियो । फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो । नेपालले पहिले ब्याटिङ गरेर १ सय १५ रनको विजयी लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले ७ विकेट सुरक्षित राख्दै प्राप्त गरेपछि नेपाल उपविजेतामै सीमित भयो ।
यो दृष्टिविहीन महिला टी–२० क्रिकेटमा पहिलो विश्वकप हो । श्रीलंका र भारतमा संयुक्त रूपमा आयोजित भएको यस प्रतियोगितामा नेपालसहित ८ टोलीको सहभागिता थियो । जसमा नेपाल, अष्ट्रेलिया, अमेरिका, भारत, पाकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गरेका थिए ।


विश्व खबर 



















