images
images
  • एनपीएलमा म्याच फिक्सिङको प्रस्ताव : खेलाडीलाई रनआउटका लागि एक करोडको लोभ

    काठमाडौं-कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा म्याच फिक्सिङको प्रस्ताव गरिएको खुलासा भएको छ। फिक्सिङको प्रस्ताव गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ परेकामध्ये भारतको हरियाणा रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र बर्दियाको बारबर्दिया–८ घर भइ भारतको चण्डीगढ बस्दै आएकी २४ वर्षीया रेविका सिंह ठकुरी रहेका छन्। अभियुक्त दुवैलाई प्रहरीले काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो।

    अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार आरोपित समूहले एनपीएलका एक खेलाडीलाई जानाजानी ‘रन आउट’ हुन अनुरोध गरेबापत एक करोड रुपैयाँ दिने प्रस्ताव गरेका थिए। तर सो प्रस्ताव अस्वीकार गर्दै खेलाडीले प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि प्रहरी टोलीले गोप्य रूपमा निगरानी बढाउँदै आरोपितलाई पक्राउ गरेको हो।

    प्रहरीका अनुसार रेविका सिंह ठकुरीले सामाजिक सञ्जाल, इन्स्टाग्राम र ह्वाट्सएपमार्फत ६-७ जना एनपीएल खेलाडीलाई सम्पर्क गरेकी थिइन्। आफू स्पोन्सर हुने भन्दै उनले संवाद सुरु गरेकी थिइन् भने सोमध्ये एक जनाले जवाफ समेत दिएका थिए।

    ३० कात्तिकमा ठकुरी दिलप्रित सिंहलाई साथमा लिएर काठमाडौं आइन्। त्यसपछि उनलाई रिप्लाई गरेका खेलाडीलाई भेट्न पुनः सम्पर्क गरियो। खेलाडीले बाहिर जान नमिल्ने भन्दै आफू बसेको होटलमै बोलाएपछि १ मंसिरमा खेलाडी र आरोपित दुबैबीच भेट भएको प्रहरीले पुष्टि गरेको छ।

    भेटमा खेलाडीले ‘कस्तो स्पोन्सर ?’ भनेर सोधेपश्चात उक्त समूहले ‘रन आउट’ हुन सके एक करोड रुपैयाँ दिने प्रस्ताव गरेको खुलासा भएको छ। खेलाडीले सो कुरा आफ्नो टिमलाई जानकारी दिए। त्यसपछि टिमको समन्वयमा १ मंसिरमै अपराध अनुसन्धान कार्यालय टेकुमा आधिकारिक रूपमा उजुरी दर्ता गरिएको थियो।

    अभियुक्तले सामाजिक सञ्जालमार्फतै बेटिङ खेलेर खेलाडीहरूलाई फिक्सिङमा संलग्न गराउने प्रयास गरेको प्रहरीको दाबी छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images