
काठमाडौं- मधेश प्रदेशमा मुख्यमन्त्री सतिशकुमार सिंहको सरकार अल्पमतमा पुगेपछि नयाँ सरकार गठनका लागि दलहरू सक्रिय भएका छन् ।
सिंह नेतृत्वको सरकारलाई जनमत पार्टीकै समर्थन फिर्ता भएपछि उनको पद संकटमा परेको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले कांग्रेसकै नेतृत्वमा सात दलसम्मको गठबन्धन बनाउनुपर्ने दाबी गर्दै आफू मुख्यमन्त्री बन्न तयार रहेको बताए ।
एमालेका सांसद हरिनारायण महतोले पनि कांग्रेसकै नेतृत्वमा कांग्रेस, एमाले, जनमत र लोसपा मिलेर दुई वर्षे सहमति हुने उल्लेख गरेका छन्, पहिलो वर्ष कांग्रेस र दोस्रो वर्ष एमालेले नेतृत्व गर्ने गरी ।
यसैबीच जसपा नेता सरोजकुमार यादवले कांग्रेस–एमाले बाहेक अन्य दल मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन् भने लोसपाका नेता जयनुल राइनले आफ्नो पालो आएको भन्दै नेतृत्वमा दाबी गरेका छन् ।
प्रदेशसभामा हाल १० दल प्रतिनिधित्व गर्दैछन् । २५ सिटसहित एमाले ठूलो दल, २२ सिटसहित कांग्रेस दोस्रो, जसपासँग १९, जनमतसँग १३, लोसपा र माओवादीसँग ९–९, एकीकृत समाजवादीसँग ७ र अन्य दलसँग १–१ सिट छ ।
सिंहले दशैं सकिएपछि मात्रै राजीनामा दिने वा संसद् सामना गर्नेबारे निर्णय गर्ने बताएका छन् । यसबीचमा दलहरूले नयाँ सत्ता समीकरण बनाउन अन्तिम प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्