काठमाडौं- नेपाली पौडीबाज अथर्व सिंहले ११औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार (असोज १३) दुई नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष एक हजार ५०० मिटर फ्रिस्टायल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गरे ।
योसँगै उनले १० वर्षअघि शिरीष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे ।
सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरीषको कीर्तिमानलाई उछिने ।
कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दूरी तय गरेका पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जानकारी दिए ।
अथर्वले अर्को राष्ट्रिय कीर्तिमान ४०० मिटर व्यक्तिगत मिड्लेमा बनाए । यसमा उनले चार मिनेट ५९.६२ सेकेन्डमा निर्धारित दूरी पूरा गरे ।
उक्त स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरीषले नै कायम गरेको पाँच मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् । -रासस


विश्व खबर 


















