काठमाडौं– नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५० लाख सहयोग प्रदान गरेको छ ।
अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच संघका अध्यक्ष विकास दुगड र संघका निवर्तमान अध्यक्ष संन्दीप अग्रवालले माननीय अर्थमन्त्री रामेश्वर खनाललाई उक्त सहयोग रकमको चेक औपचारिक रूपमा हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले आन्दोलनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माणमा सरकारको प्रयासलाई साथ दिनु प्रत्येक नागरिकको जिम्मेवारी रहेको उल्लेख गर्दै संघको सहयोगले पुनर्निर्माण कार्यमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस अवसरमा अर्थमन्त्री खनालले नेपाल वनस्पति घ्यूतेल उत्पादक संघले देखाएको सहयोगी भावना प्रति आभार प्रकट गर्दै प्राप्त सहयोग रकमले पुनर्निर्माणको कार्यलाई थप गति दिन महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा संघका पदाधिकारी र मन्त्रालयका अधिकारी तथा सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो ।























