images
images
  • चार दशकमा नबिल बैंकले सरकारलाई बुझायो करिब ३२ अर्ब आयकर, नवौँ पटक बन्यो सर्वाधिक करदाता बैंक

    काठमाडौं–नेपालको बैंकिङ क्षेत्रमा चार दशकभन्दा लामो व्यावसायिक यात्रा पूरा गरेको नबिल बैंकले सरकारलाई आयकरबापत करिब ३२ अर्ब रुपैयाँ योगदान गरेको छ ।बैंकले स्थापनादेखि हालसम्म नेपाल सरकारलाई ३१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ आयकर बुझाएको हो ।निजी क्षेत्रको बैंकिङ इतिहासमा यो योगदानलाई उल्लेखनीय उपलब्धिका रूपमा हेरिएको छ ।

    बैंकले व्यावसायिक गतिविधिबाट नाफा आर्जन गर्नुका साथै राज्यको राजस्व संकलनमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको तथ्यांकले देखाउँछ ।बैंकले गत आर्थिक वर्ष २०८१/०८२ मा पनि बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गरेपछि नेपाल सरकारबाट सम्मान प्राप्त गरेको छ ।राष्ट्रिय कर दिवस–२०८३ को अवसरमा सरकारले नबिल बैंकलाई बैंकिङ क्षेत्रको सर्वाधिक आयकरदाता संस्थाका रूपमा सम्मान गरेको हो ।

    यो सम्मानसँगै नबिल बैंक नवौँ पटक बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंक बनेको छ ।निजी क्षेत्रको व्यावसायिक सफलतालाई केवल नाफा, पुँजी र लगानीको आकारबाट मात्रै मूल्यांकन गर्न नसकिने अर्थशास्त्रीहरूको मान्यता रहँदै आएको छ ।राज्यकोषमा पुर्‍याएको योगदान, रोजगारी सिर्जना, उत्पादन तथा सेवाको विस्तार र समग्र अर्थतन्त्रमा पारेको प्रभाव पनि व्यावसायिक सफलताका महत्त्वपूर्ण सूचक हुन् ।यही दृष्टिकोणबाट हेर्दा नबिल बैंकको चार दशक लामो यात्रा राज्यको राजस्व योगदानसँग पनि जोडिएको देखिन्छ ।

    नवौँ पटक सर्वाधिक आयकरदाता बैंक

    नेपाल सरकारले प्रत्येक वर्ष राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न आर्थिक क्षेत्रबाट सबैभन्दा बढी कर तथा राजस्व योगदान गर्ने व्यक्ति, संस्था र व्यवसायिक प्रतिष्ठानलाई सम्मान गर्दै आएको छ ।यसै क्रममा आर्थिक वर्ष २०८१/०८२ मा बैंकिङ क्षेत्रबाट सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा नबिल बैंक सम्मानित भएको हो ।बैंकले यसअघि पनि आठ पटक यस्तो सम्मान प्राप्त गरिसकेको थियो ।आर्थिक वर्ष २०६७/०६८, २०७०/०७१, २०७१/०७२, २०७३/०७४, २०७५/०७६, २०७६/०७७, २०७७/०७८ र २०७९/०८० मा बैंकिङ क्षेत्रको सर्वाधिक आयकरदाता बैंक बनेको थियो ।यसपटक आर्थिक वर्ष २०८१/०८२ मा पनि उक्त उपलब्धि दोहोर्‍याउँदै बैंकले नवौँ पटक सम्मान प्राप्त गरेको हो ।

    राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नबिल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीलाई सम्मानपत्र प्रदान गरेका थिए ।बैंकिङ क्षेत्रबाट सर्वाधिक आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै बैंकलाई सम्मान गरिएको हो ।

    ३१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ आयकर : राज्यकोषमा निजी क्षेत्रको योगदान

    नबिल बैंकले आफ्नो स्थापनादेखि हालसम्म सरकारलाई ३१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ आयकर बुझाएको तथ्यांक सार्वजनिक गरेको छ ।चार दशकभन्दा लामो अवधिमा बैंकले वित्तीय सेवा विस्तार, व्यवसाय विस्तार र नाफा आर्जनसँगै सरकारलाई नियमित रूपमा आयकर बुझाउँदै आएको छ ।सरकारले यही राजस्वबाट सार्वजनिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, सुरक्षा, खानेपानी, विद्युत्, सडक तथा अन्य विकासका कार्यक्रम सञ्चालन गर्छ ।

    निजी क्षेत्रका संस्थाले तिर्ने करले सरकारको वित्तीय स्रोत बलियो बनाउन सहयोग पुर्‍याउँछ ।विशेषगरी बैंक तथा वित्तीय संस्थाले आर्जन गर्ने नाफाबाट प्राप्त हुने आयकरले राज्यको राजस्व संकलनमा प्रत्यक्ष योगदान पुर्‍याउँछ ।यसका अतिरिक्त बैंकिङ क्षेत्रले निक्षेप परिचालन, कर्जा प्रवाह, लगानी विस्तार, उद्यमशीलता विकास र रोजगारी सिर्जनामार्फत अर्थतन्त्रका विभिन्न क्षेत्रमा आर्थिक गतिविधि बढाउन सहयोग गर्छ ।नबिल बैंकले बुझाएको कर रकमलाई बैंकको प्रत्यक्ष राजस्व योगदानका रूपमा लिन सकिन्छ भने यसको वित्तीय गतिविधिले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि प्रभाव पार्ने गरेको छ ।

    संस्थागत सुशासन र रणनीतिक व्यवस्थापनलाई सफलताको आधार

    नबिल बैंकले लामो समयदेखि व्यावसायिक सफलता कायम राख्नुको पछाडि संस्थागत सुशासन र रणनीतिक व्यवस्थापन महत्त्वपूर्ण रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली बताउँछन् ।उनका अनुसार कुनै पनि संस्थाले लामो समयसम्म नाफा आर्जन गर्न र राम्रो कार्यसम्पादन गर्न स्पष्ट रणनीति, सही व्यवस्थापन र संस्थागत सुशासन आवश्यक हुन्छ ।

    ‘कुनै पनि संस्था निरन्तर रूपमा नाफामा रहन र राम्रो कार्यसम्पादन गर्नका लागि बैंक मात्र होइन, जुनसुकै संस्थामा पनि रणनीतिक रूपमा सही दिशा र संस्थागत सुशासन आवश्यक हुन्छ,’ ज्ञवाली भन्छन् ।उनका अनुसार व्यावसायिक संस्थाको नाफा हरेक वर्ष समान रहन सक्दैन ।बजारको अवस्था, आर्थिक गतिविधि, लगानीको वातावरण र अन्य बाह्य कारणले नाफामा उतारचढाव आउन सक्छ ।कुनै वर्ष नाफा बढ्न सक्छ भने अर्को वर्ष घट्न वा घाटासमेत हुन सक्छ ।तर, संस्थाको व्यवस्थापन प्रणाली, रणनीतिक दिशा र सुशासन बलियो भएमा दीर्घकालीन रूपमा दिगो व्यावसायिक सफलता हासिल गर्न सकिने उनको भनाइ छ ।

    ज्ञवाली भन्छन्, ‘कुनै वर्ष नाफा धेरै हुन सक्छ, कुनै वर्ष घट्न सक्छ र कुनै वर्ष घाटा पनि हुन सक्छ । तर संस्थागत सुशासन र रणनीतिक दिशा सही भयो भने त्यो संस्था एउटा निश्चित स्तरमा दिगो नाफा आर्जन गर्ने अवस्थामा रहन्छ । नबिल बैंक त्यसको एउटा उदाहरण हो ।’

    बैंकले निरन्तर राम्रो वित्तीय प्रदर्शन गर्नु र सरकारी राजस्वमा ठूलो योगदान पुर्‍याउन सक्नुमा यिनै व्यवस्थापकीय पक्षको भूमिका रहेको उनको भनाइ छ ।

    nabil 1

    निजी क्षेत्र नाफा कमाउने संस्था मात्रै होइन

    नेपालको अर्थतन्त्रमा निजी क्षेत्रलाई आर्थिक गतिविधिको प्रमुख संवाहकका रूपमा लिइन्छ ।निजी क्षेत्रले उत्पादन, व्यापार, सेवा, वित्तीय कारोबार र लगानी विस्तारमार्फत अर्थतन्त्रलाई चलायमान बनाउँछ ।निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै सरकारलाई कर राजस्व उपलब्ध गराउँछ ।

    निजी क्षेत्रको विस्तारसँगै वस्तु तथा सेवाको उत्पादन बढ्ने, बजार विस्तार हुने, उपभोग बढ्ने र आर्थिक कारोबारमा वृद्धि हुने गर्छ ।यसबाट सरकारको राजस्व संकलनको आधारसमेत फराकिलो बन्ने गर्छ ।विशेषगरी बैंकिङ क्षेत्रले अर्थतन्त्रमा वित्तीय स्रोतको परिचालन गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।

    सर्वसाधारणको बचतलाई निक्षेपका रूपमा संकलन गरी कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, पूर्वाधार तथा सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने काम बैंकिङ प्रणालीले गर्छ ।बैंकबाट प्रवाह हुने कर्जाले नयाँ व्यवसाय स्थापना, पुराना उद्योगको क्षमता विस्तार र उद्यमशीलता विकासमा सहयोग पुर्‍याउँछ ।यसले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा योगदान गर्छ ।

    यसरी बैंकिङ क्षेत्रको योगदानलाई केवल आयकर वा नाफाको तथ्यांकबाट मात्रै मापन गर्न सकिँदैन ।वित्तीय पहुँच विस्तार, लगानी परिचालन, वित्तीय अनुशासन र अर्थतन्त्रका विभिन्न क्षेत्रसँगको सम्बन्ध पनि यसको महत्त्वपूर्ण पक्ष हुन् ।बैंकको समग्र कार्यसम्पादन मूल्यांकन गर्दा आयकर योगदानसँगै निक्षेपकर्ता र ऋणीप्रतिको जिम्मेवारी, कर्जाको गुणस्तर, वित्तीय पारदर्शिता, जोखिम व्यवस्थापन र सेवाग्राहीको विश्वासलाई पनि महत्त्व दिनुपर्ने हुन्छ ।

    कर तिर्ने संस्कार र जिम्मेवार निजी क्षेत्रको अपेक्षा

    नेपालमा करको दायरा विस्तार, राजस्व चुहावट नियन्त्रण र करदातालाई प्रोत्साहन गर्ने विषय लामो समयदेखि राज्यको प्राथमिकतामा रहँदै आएको छ ।सरकारले विकास निर्माण र सार्वजनिक सेवा विस्तारका लागि आन्तरिक राजस्वलाई बलियो बनाउनुपर्ने आवश्यकता छ ।यसका लागि निजी क्षेत्रका ठूला संस्थाले करसम्बन्धी दायित्व पूरा गर्नुका साथै अन्य व्यवसायलाई पनि औपचारिक अर्थतन्त्रमा आबद्ध हुन प्रेरित गर्न सक्छन् ।नबिल बैंकले चार दशकको अवधिमा बुझाएको ३१ अर्ब ९३ करोड ८१ लाख रुपैयाँ आयकर र नवौँ पटक प्राप्त गरेको सर्वाधिक करदाता बैंकको सम्मानले निजी क्षेत्रको राजस्व योगदानलाई पुनः चर्चामा ल्याएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images