काठमाडौं– सरकारले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका नेताका घरमा भेटिएका जलेका नोटबारे छानबिन सुरु गरेको छ ।
भदौ २४ गते कांग्रेस सभापति शेरबहादुर देउवा र आरजू राणा देउवाको निवासमा आगजनी हुँदा जलेका नोटका बिटा भेटिएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै नेताका घरमा भेटिएको नगद रकमबारे सम्बन्धित निकायले छानबिन थालेको जनाएकी थिइन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जलेका नोटदेखि पासपोर्टसम्मका विषयमा अनुसन्धान भइरहेको बताउँदै आवश्यक परे पक्राउसम्मको प्रक्रिया अघि बढ्न सक्ने संकेत दिए ।
सम्पत्ति शुद्धीकरण विभागले पनि देउवा दम्पती र तत्कालीन मन्त्री दीपक खड्काको निवासमा भेटिएका नोटका टुक्रा संकलन गरी प्रहरीको फरेन्सिक ल्याबमा पठाइसकेको जनाएको छ ।
विभागका महानिर्देशक कृष्णप्रसाद मैनालीका अनुसार प्रारम्भिक अनुसन्धान जारी छ र प्रतिवेदन पछि सार्वजनिक हुनेछ ।


विश्व खबर 




















