
काठमाडौं-नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल नेपाली कांग्रेसको क्रियाशील सदस्यका साथै क्षेत्रीय प्रतिनिधि समेत चुनिएको पाइएको छ । खरेलले दोलखा जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्ने कालिन्चोक गाउँपालिका वडा नम्बर ७ बाट कांग्रेसको क्रियाशील सदस्यता लिएका हुन् ।
कांग्रेसमा क्रियाशील सदस्यता विवाद कायमै छ । तर, दोलखा जिल्लासहित केहीमा विवाद नरहेकाले कांग्रेसले आफ्नो आधिकारिक वेबसाइटमा सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरुको सूची यसअघि नै प्रकाशित गरेको छ ।
प्रतिनिधि सभाका लागि एउटा मात्रै क्षेत्र रहेको दोलखामा प्रदेश सभाका लागि दुई ओटा निर्वाचन क्षेत्र छन् । सञ्चारमन्त्री खरेलले प्रदेश सभा क्षेत्र नम्बर २ मा पर्ने कालिन्चोक गाउँपालिका वडा नम्बर ७ बाट क्रियाशील सदस्यता लिएको देखिन्छ । उक्त सूचीको १५३ औँ नम्बरमा खरेलको नाम रहेको काँग्रेसले आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको क्रियाशील सदस्यता सूचीमा देखिन्छ । खरेलले कांग्रेसको १४ औँ महाधिवेशन अघि क्रियाशील सदस्यता पाएका थिए । उनी सोही सदस्यताका आधारमा क्षेत्रीय प्रतिनिधि चुनिएका थिए ।
दोलखा जिल्लासहित कालिन्चोक गाउँपालिकाका स्थानीय काँग्रेस नेताहरूले क्रियाशील सदस्यतामा रहेको जगदिश खरेल र अहिले सञ्चारमन्त्री बनेका जगदिश खरेल एकै व्यक्ति भएको पुष्टि गरेका छन् । जिल्ला र स्थानीय तहका काँग्रेस कार्यकर्ताहरूले उनी काँग्रेसको अघिल्लो महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि चुनिएको बताएका छन् ।
“नाम पनि मिल्छ, मान्छे पनि अहिलेकै सञ्चारमन्त्री हुनुहुन्छ । उहाँले नै काँग्रेसको क्रियाशील सदस्यता लिनु भएको हो । तर, स्थानीय राजनीतिमा खरेल त्यति सक्रिय हुनुहुन्न । उहाँ १४ औँ महाधिवेशन अघि क्रियाशील सदस्यता लिएर क्षेत्रीय प्रतिनिधि नै हुनु भएको थियो,” एक स्थानीय नेताले भने ।
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सञ्चारमन्त्री बनेका खरेल काँग्रेसको क्रियाशील सदस्य रहेको बारेको दाबी सही भएको जनाएको छ ।यसै विषयमा ४ असोज २०७८ मा रमेश खतिवडाले दोलखाबाट नागरिक न्यूजका लागि ‘दोलखा कांग्रेस अधिवेशनमा फरक पेशाका नयाँ अनुहारु शीर्षकमा लेखेको समाचार प्रकाशित भएको देखिन्छ ।
उक्त समाचारमा लेखिएको छ, ‘टेलिभिजनकर्मी एवं प्रख्यात अन्तर्वार्ताकार जगदिश खरेल समेत कांग्रेसको सक्रिय राजनीतिमा जोडिदै कालिन्चोक गाउँपालिका ७ सुनखानीबाट जिल्ला अधिवेशनमा भाग लिन क्षेत्रीय प्रतिनिधि चुनिएर आएका छन्। ईमेज च्यानलमा कार्यरत उनी टेलिभिजन अन्तर्वार्तामा चर्चित छन्। महाधिवेशन प्रतिनिधिको चर्चा रहेपनि खरेलले भने हालसम्म कुन पदमा उठ्ने भनेर सार्वजनिक घोषणा गरेका छैनन्। यद्यपि उनी समेत महाधिवेशन प्रतिनिधिको उम्मेद्वार बन्न सक्ने अनुमान गरिएको छ। नागरिकन्युजसंगको कुराकानीमा उनले आफूले छिट्टै आफ्नो उम्मेद्वारी घोषणा गर्ने सुनाए।’
मङ्गलबार बिहानैदेखि सामाजिक सञ्जाल फेसबुक लगायतका सामाजिक सञ्जालमा खरेल काँग्रेसको क्रियाशील सदस्य रहेको भन्दै तस्बिरसहितका पोस्ट आइरहेका छन् । काँग्रेस विधानअनुसार १२५ वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेश सभा क्षेत्रीय अधिवेशनका लागि कम्तीमा तीन जना महिलासहित नौजना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ ।
सञ्चारमन्त्री खरेलले क्रियाशील सदस्यता लिएको वडामा १६७ जना क्रियाशील सदस्य रहेको देखिन्छ । १२५ जनाभन्दा बढी भएकामा ७५ को सीमा भित्र रहेर प्रति एक सय थप क्रियाशील सदस्यमा दुई महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ । गाउँपालिकाभित्रका सम्पूर्ण वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि गाउँपालिका अधिवेशनका सदस्यसमेत हुने प्रावधान छ ।
रास्वपा उम्मेदवार जगदीश खरेल अर्कै व्यक्ति
सामाजिक सञ्जालहरूमा निर्वाचन आयोगको वेबसाइटमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारहरूको सूचीको स्क्रिनशट पनि भाइरल भएको भेटिन्छ । जसमा रातो घेरा लगाएर दोलखा प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोलाकार भित्र घण्टी चुनाव चिन्ह लिएर ३८०१ मत ल्याएका जगदीश खरेल भन्ने व्यक्ति देखाउन खोजिएको छ ।
हेर्नुस् भाइरल बनाइएको फोटोः
कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरू यी उम्मेदवार पनि वर्तमान सञ्चारमन्त्री जगदिश खरेल नै हुन् कि भनेर झुक्किरहेका छन् । तर, रास्वपाबाट उम्मेदवार बनेका यी जगदीश खरेल फरक व्यक्ति हुन् । सञ्चारमन्त्री खरेल दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर ७ का बासिन्दा हुन् । तर, उम्मेदवार बनेका खरेल सोही गाउँपालिकाको वडा ८ का बासिन्दा हुन् । दुवैका आमा बुबाको नाम पनि फरक छ ।
निर्वाचन आयोगको वेबसाइटमा रहेको निर्वाचन परिणाममा उपलब्ध उम्मेदवारको विवरणमा दोलखा क्षेत्र नम्बर १ मा रास्वपाबाट उम्मेदवार बनेका जगदीश खरेल र सञ्चारमन्त्री खरेलको अनुहार मेल खाँदैन । सँगै सञ्चारमन्त्री र रास्वपाबाट उम्मेदवार बनेका खरेलको बुबाको नाम पनि मेल नखाएको भेटियो । २०७९ सालको स्थानीय तह निर्वाचनमा खरेलले दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेस उम्मेदवार अर्जुन शिवाकोटीलाई जिताउन सक्रिय भूमिका खेलेका थिए । शिवाकोटी विजयी भएपछि खरेल कांग्रेस कार्यालयमै पुगेर तस्बिर खिचाएका थिए, जुन अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
प्रतिक्रिया दिनुहोस्