images
images
  • एनसेल मुख्यालयमा तोडफोड, आगजनी र डकैती गर्नेविरुद्ध प्रहरीमा उजुरी

    काठमाडौं– राजधानीको लैनचौरस्थित एनसेलको मुख्य कार्यालय एनसेल आइकनमा जेनजी आन्दोलनको नाममा तोडफोड, आगजनी र डकैती भएको भन्दै कम्पनीले जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा सोमबार औपचारिक उजुरी दर्ता गराएको छ ।

    उजुरीमा विभिन्न आपराधिक समूहले आन्दोलनको आडमा अन्धाधुन्ध आक्रमण गरी कम्पनीको सम्पत्तिमा ठूलो क्षति पुर्‍याएको उल्लेख छ ।

    एनसेलले घटनामा संलग्नहरुलाई छानबिन गरी कानूनी दायरामा ल्याई हदैसम्मको सजाय दिनुका साथै डकैती गरी लगिएका सामग्री फिर्ता गराउन र क्षतिपूर्ति दिलाउन माग गरेको छ ।

    कम्पनीको दाबीअनुसार, प्रदर्शनकारीहरुले सुरक्षाकर्मीहरुलाई धम्की दिई कोठाभित्र थुनी भवनमा तोडफोड र आगजनी गरेका थिए ।

    भवनको अगाडिको भागका सिसा फुटाएर कार्यालय भित्र प्रवेश गरी ग्राहक सेवा केन्द्र, रिसेप्सन लगायतका ठाउँमा रहेका उपकरण तोडफोड गरिएका छन् ।

    यसैगरी, कार्यालयका महत्वपुर्ण कागजात, सक्कल प्रमाणपत्र, अनुमतिपत्र, जग्गाधनी प्रमाणपुर्जा, नगद तथा सेफमा रहेका सामग्री समेत लुटिएको एनसेलले जनाएको छ ।

    कम्पनीको दशैँ तलामा रहेका कम्प्युटर, टेलिभिजन, प्रिन्टर, फ्रिज, ओभन, कफी भेन्डिङ मेसिनलगायत बहुमूल्य इलेक्ट्रोनिक सामान, कर्मचारीका व्यक्तिगत लकर खोली ल्यापटप तथा गहना समेत डकैती गरिएको उल्लेख छ ।

    मिटिङ हलका टिभी, मोनिटरदेखि फिटनेस उपकरणहरुसम्म फालिएको वा चोरी भएको र कम्पनीका आफ्नै तथा भाडामा लिएका महँगा सवारीसाधन जलाइएका छन् ।

    भवनभित्र र कम्पाउण्डबाहिर पार्क गरिएका निजी गाडीहरुमासमेत आगजनी तथा तोडफोड गरिएको कम्पनीले उजुरीमार्फत दाबी गरेको छ ।

    एनसेलले घटनामा लुटिएका सम्पत्तिको सूची तथा क्षतिको प्रारम्भिक विवरण प्रहरीलाई उपलब्ध गराइसकेको छ ।

    साथै, अनुसन्धानलाई सहज बनाउन कैद भएका सम्पूर्ण सिसिटिभी फुटेज पनि प्रहरीलाई हस्तान्तरण गरिएको जनाएको छ ।

    कम्पनीले आगजनी र डकैतीबाट भएको वास्तविक क्षतिको मूल्याङ्कन भइरहेको र थप विवरण क्रमशः उपलब्ध गराइने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images