images
images
  • ‘हामी फेरि उठ्नेछौँ’ : एनसेल

    काठमाडौं– एनसेलले हालै देशभर भएका तोडफोडका घटनाबाट आफ्ना कार्यालयहरूलाई गम्भीर क्षति पुगेको जनाएको छ ।

    कम्पनीका अनुसार काठमाडौंस्थित मुख्य कार्यालय ‘एनसेल आइकम’सहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयमा व्यापक नोक्सानी भएको हो ।

    एनसेलले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमा ती घटनाले भौतिक क्षतिको साथै कर्मचारीहरूको सुरक्षा र सेवा निरन्तरतामा समेत गम्भीर जोखिम निम्त्याएको जनाएको छ ।

    यद्यपि, कम्पनीले कठिन परिस्थितिमा पनि आफ्नो मूल उद्देश्य देशका जनतासम्म दूरसञ्चार सेवा निरन्तर पु¥याउनेप्रति अडिग रहने प्रतिबद्धता दोहोर्याएको छ।

    “संकटको समयमा सहज रुपमा सेवा उपलब्ध गराउन हामीले तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सुविधा प्रदान गर्‍यौँ,” विज्ञप्तिमा भनिएको छ ।

    कम्पनीले यो कदम आफ्ना ग्राहकप्रतिको समर्पण र जिम्मेवारीको प्रतीक भएको दाबी गरेको छ ।

    २० वर्षदेखि नेपाली जनसमुदायलाई सेवा दिँदै आएको एनसेलले रोजगारी सिर्जना, आर्थिक वृद्धिमा योगदान र डिजिटल नेपाल निर्माणको अभियानलाई सघाउँदै आएको दाबी गर्दै नयाँ अध्यायमा पनि निरन्तर साथ दिने उल्लेख गरेको छ ।

    नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिंदै कम्पनीले युवाहरूको अगुवाइमा भएको आन्दोलनले ल्याएको परिवर्तनलाई स्वागत गरेको छ ।

    “यो परिवर्तनले सबै नेपालीका लागि अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो साझा आशा छ,” एनसेलले जनाएको छ ।

    विज्ञप्तिमा आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको शुभकामना पनि व्यक्त गरिएको छ ।

    NoticeAd Nepali

    प्रतिक्रिया दिनुहोस्
    images
    images