काठमाडौं– आर्थिक वर्ष २०८१/८२ मा रेमिट्यान्स आप्रवाह उच्च स्तरमा पुगेको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, गत आर्थिक वर्षमा कुल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ। यो हालसम्मकै उच्च रगत आयात हो र अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको थियो, जुन वर्षमा १६.५ प्रतिशतले वृद्धि भएको थियो।
मासिक रुपमा पनि रेमिट्यान्स आप्रवाह लगातार उच्च रहेको छ। २०८२ असार महिनामा मात्र एक खर्ब १८९ अर्ब ११ करोड रुपैयाँ बराबरको विप्रेषण भएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको एक खर्ब १७ अर्ब ७८ करोड भन्दा बढि हो।
अमेरिकी डलरमा पनि रेमिट्यान्स आप्रवाह १६.३ प्रतिशतले वृद्धि भई १२ अर्ब ६४ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो।
गत आर्थिक वर्षमा नेपालीहरुको खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड पुगेको छ, जुन अघिल्लो वर्षको १५ खर्ब ७१ अर्ब २४ करोड भन्दा धेरै हो।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ५ लाख ५ हजार ९ सय ५७, भने पुन: श्रम स्वीकृति लिनेको संख्या ३ लाख ३३ हजार ३ सय ९ पुगेको छ। अघिल्लो वर्ष क्रमश: यी संख्या ४ लाख ६० हजार १०२ र २ लाख ८१ हजार १९५ रहेको थियो।


विश्व खबर 




















