काठमाडौं– रूपन्देही–३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) निर्वाचन आयोगमा दर्ता हुनबाट वञ्चित भएको छ ।
अध्यक्ष रञ्जिता श्रेष्ठ (पत्नी) र संरक्षक रेशम चौधरी (पति)बीचको आन्तरिक विवादका कारण आवश्यक कागजात पेश नभएकाले आयोगले नाउपाको निवेदन अस्वीकार गरेको हो ।
आयोगकी प्रवक्ता निता पोखरेल अर्यालका अनुसार पटक–पटक जानकारी दिँदा पनि नाउपाले कागजात पेश नगरेपछि दर्ता हुन सकेन ।

यसअघि केन्द्रीय समितिको बैठक नै नगरी अध्यक्ष श्रेष्ठले पुरानो हस्ताक्षर प्रयोग गरेर निवेदन दिएको भन्दै चौधरी पक्षले आपत्ति जनाएको छ ।
२१ सदस्यीय समितिमध्ये १३ जनाले रञ्जितामाथि कारबाही गरेका थिए ।
दल दर्ता असफल भएपछि नाउपामा ‘डमी’ उम्मेदवार अघि सार्ने वा स्वतन्त्र उम्मेदवार उठाउने विकल्पमात्र बाँकी रहेको छ ।
चौधरी पक्षले भने आफ्नै तर्फबाट उम्मेदवार उठाउने तयारी गरेको छ ।
संघीय लोकतान्त्रिक मोर्चाले नाउपालाई समर्थन गर्ने निर्णय गरिसकेको छ ।
मोर्चाभित्रका दलहरूले चौधरीले अघि सार्ने उम्मेदवारलाई नै साझा उम्मेदवारका रूपमा सहयोग गर्ने बताएका छन् ।
निर्वाचन आयोगका अनुसार रूपन्देही–३ को उपनिर्वाचन प्रयोजनका लागि २७ दलले निवेदन दिएका मध्ये २६ दल दर्ता भएका छन् ।
नाउपा मात्रै दर्ता हुन असफल भएको हो ।






















