काठमाडौं– सत्तारूढ नेपाली कांग्रेस र एमालेले उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारी थालेका छन् ।
मंगलबार दुवै दलले आफ्ना सांसदहरूसँग हस्ताक्षर संकलनपछि हट्यो सत्तारूढ गरेका छन् तर प्रस्ताव तत्काल दर्ता गर्ने कि नगर्ने भन्नेमा अन्यौल छ ।
बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले प्रस्ताव अघि बढाउनुअघि सरकारमा रहेका साना दलहरूसँग सहमति खोज्ने निष्कर्ष निकालेको थियो ।
त्यसअनुसार कांग्रेस, एमाले, लोसपा, नागरिक उन्मुक्ति, जनमतलगायत दलका नेताहरूले छलफल गरेका छन् ।
यद्यपि लोसपा, नागरिक उन्मुक्ति, जनमतलगायत दलका नेताहरूले हालसम्म उपसभामुख हटाउनेबारे निष्कर्षमा नपुगेको बताइएको छ ।
बैठकमा केही दलले उपसभामुख हटाउन साथ दिने संकेत गरेका छन् ।
राना मगर हाल अमेरिकामा छन् र भदौ १३ मा मात्र स्वदेश फर्किने कार्यक्रम छ ।
कांग्रेस–एमालेले उनी फर्किएपछि मात्रै प्रस्ताव अघि बढाउने तयारी गरेका छन् ।
तर, माओवादी, राप्रपा, रास्वपा र एकीकृत समाजवादीले भने यसलाई असंवैधानिक भन्दै विरोध जनाएका छन् ।
संविधानको धारा ९१ अनुसार उपसभामुखलाई पदअनुकूल आचरण नगरेको ठहर भई दुईतिहाइ बहुमतले मात्र पदबाट हटाउन सकिन्छ ।
राना मगरले अमेरिकी दूतावासलाई भिसा सिफारिस गरेको विवादित पत्रकै आधारमा हटाउने प्रस्ताव ल्याउन लागिएको हो ।
६ सदस्यीय संवैधानिक परिषदमा उपसभामुख पनि रहने व्यवस्था भएकाले सत्तापक्षले बहुमत कायम गर्न उनलाई हटाउन खोजेको विपक्षी दलहरूको आरोप छ ।






















