काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने विषय फेरि चर्किएसँगै राष्ट्रिय राजनीति तातेको छ ।
सरकारका मुख्य दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले रानाविरुद्ध कदम चाल्ने तयारी अघि बढाएका छन् ।
संविधान अनुसार सभामुख वा उपसभामुखलाई पदमुक्त गर्न प्रतिनिधिसभामा दुई तिहाइ बहुमत आवश्यक हुन्छ ।
संविधानको धारा ९१(६)(ग) अनुसार पदीय मर्यादाविपरीत आचरण गरेको ठहर भएमा तत्काल कायम रहेका सदस्यहरूको दुई तिहाइ बहुमतले प्रस्ताव पारित गरेपछि सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।
यता, केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता गरिसकेका छन् ।
२७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेसका ८८ र एमालेका ७८ सिट छन् ।
तर, कांग्रेस सांसद मोहनबहादुर बस्नेत र एमाले सांसद टोपबहादुर रायमाझी निलम्बित रहेकाले मतदानमा सहभागी हुन पाउँदैनन् ।
गठबन्धनमा रहेका जसपाका ७, जनमत पार्टीका ६ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ सांसदसहित सत्तापक्षसँग अहिले १८१ मत छन् ।
दुई तिहाइ बहुमत पुग्न अझै तीन मत आवश्यक पर्छ ।
त्यसका लागि नाउपा, जसपा नेपाल वा अन्य विपक्षी दलका सांसदहरूको समर्थन अनिवार्य हुने देखिन्छ ।






















