काठमाडौं-२ दिने नेपाल भ्रमण गरेर भारतीय विदेशसचिव विक्रम मिसरी सोमबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट भारत भ्रमणको निम्तो दिन आएका मिसरीले निम्तो मात्रै दिएनन्, अस्वाभाविक राजनीतिक सक्रियतासमेत देखाएर गए । एउटा कर्मचारीका रूपमा निम्तोपत्र बोकेर आएका उनले देशका राष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरूदेखि मधेस केन्द्रित दलका नेताहरूसँग समेत भेटे ।
आइतबार र सोमबार २ दिन उनलाई नेपालका नेताहरू भेट्न भ्याइनभ्याइ भयो । राजनीतिक तहको उच्च व्यक्तित्व आएसरह नेपालका नेताहरूले पनि ठाउँको ठाउँ भेट दिनुलाई परराष्ट्र मामलाका जानकारहरूले दुःखद् भनेका छन् । आइतबार नेपाल आएका मिसरीले सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भारत भ्रमणको निम्तो दिए । उनले दुवै पक्षको अनुकूल हुने गरी भारत भ्रमण गर्न निम्तो दिएको जनाइएको छ । लगत्तै राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गरे ।
परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा आएका मिसरीले विभागीय मन्त्री हुनुका नाताले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पनि भेट गरे । तर, मिसरी त्यतिमै सीमित भएनन्, प्रधानसेनापति अशोकराज सिग्देलसमेतलाई भेटेर रक्षा सामग्री र उपकरणहरू हस्तान्तरण गरे । प्रधानमन्त्री, परराष्ट्रमन्त्री र परराष्ट्र सचिवबाहेकसँगको उनको भेटलाई अस्वाभाविक भएको टिकाटिप्पणी भइरहेको छ । आफ्नो प्रोटोकल बिर्सेर छिमेकी देशको एक कर्मचारीको घरदैलोलाई साथ दिएकामा शीर्ष नेताहरूप्रति पनि टिकाटिप्पणी भइरहेको छ ।
मिसरीले राजनीतिक भ्रमणजस्तो देशका शीर्ष नेताहरूलाई भेट गरिहिँड्नु स्वाभाविक नदेखिएको परराष्ट्र मामलाकी जानकार इन्द्र अधिकारीको टिप्पणी छ । कुनै छलफल, बहस र मुद्दाबिना नेताहरूलाई भेट्नु सुहाउँदो नभएको बताउँदै उनले भनिन्, ‘कुनै एजेन्डा वा मुद्दामा छलफल गर्ने, विकास परियोजनाहरूमा छलफल हुँदा त ठिकै हो । एकजना कर्मचारी सबै राजनीतिक नेतृत्वसँग भेट्ने गतिविधि सुहाउँदो देखिएन ।’

साना दलका नेता पनि लाइन लागेर गए भेट्न !
शीर्ष नेताहरूसँग मात्रै उनको भेट केन्द्रित रहेन । उनले आफू बसेको होटल द्वारिकाजमा बोलाएर प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र सांसद शिशिर खनालसँग भेट गरे । मधेस केन्द्रित राजनीतिक दलका नेताहरूलाई पनि त्यहीँ बोलाएर भेटवार्ता गरे । कुनै खास एजेन्डा नभए पनि उनले सबै नेताहरूलाई आफ्नो ‘दर्शनभेट’ दिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता प्रगितिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठी, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र तमलोपा अध्यक्ष वृषेशचन्द्र लाललगायत नेताहरू उनलाई भेट्न होटलमै पुगे ।
विगतमा पनि भारतीय सचिवहरू आउँदा मधेस केन्द्रित दलका नेताहरू यसरी नै लाइन लागेर भेट्न होटलसम्मै पुग्ने गर्थे । जसलाई आमरूपमा जनताको तहबाट ‘लम्पसारवाद’को संज्ञासमेत दिने गरिएको छ । सोही प्रकारको लम्पसारवादी प्रवृत्ति मधेस केन्द्रित राजनीतिक दलहरूले दोहोर्याएका हुन् । जनता प्रगितिशील पार्टीका अध्यक्ष त्रिपाठीले पहिलेदेखि नै यसरी नै सामूहिक रूपमा भेट्दै आएको उल्लेख गर्दै त्यसैको निरन्तरता स्वरुप भेट भएको रूपमा इंगित गरे । उनले संघीय लोकतान्त्रिक मोर्चासँग आबद्ध दलहरूसँग भेट भएका कारण सामूहिक भेट भएको जिकिर गरे । अन्यथा अलग–अलग नै भेट हुने उनको भनाइ छ ।
‘पहिलेदेखि नै यस्तै हुँदै आएको छ । संघीय लोकतान्त्रिक मोर्चासँग संयुक्त रूपमा भेटिनु ठिकै हो । ७ वटा पार्टी छौँ, ७ वटालाई अलग–अलग भेट्नुभन्दा सँगै भेट्नु ठिक हुन्छ,’ उनले भने, ‘मोर्चा नभएको भए अलग–अलग भेट हुन्थ्यो ।’ आफूहरूसँगको भेटमा मिसरीले प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउने गृहकार्य भइरहेको जानकारी दिएको उनले बताए । दुवै देशका जनतालाई नकारात्मक प्रभाव पार्ने काम हुनु हुँदैन भन्नेमा आफूहरूको साझा चिन्ता र चासो रहेको उनको भनाइ छ ।
परराष्ट्र मामिलाकी जानकार अधिकारी मधेस केन्द्रित राजनीतिक दलहरूलाई संयुक्त रूपमा भेटेर परम्परा धानिएको बताउँछिन् । ‘राजनीतिक नेतृत्वले जसरी सबै पूर्वप्रधानमन्त्री, मधेस केन्द्रित दलहरू सबैलाई भेट्नु जहाँसुकै हुने अभ्यास होइन । परम्परा नै यस्तै बसेको छ । त्यसैले भेटिएको होला,’ उनले भनिन् ।






















