काठमाडौं– जेलमुक्त भएपछि सोमबार निवासमा पत्रकार सम्मेलन गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो सबैभन्दा ठूलो आक्रोश राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माथि पोखेका छन् ।
उनले राजावादी र राप्रपाकै कारण राजतन्त्र पुनस्र्थापनाको आन्दोलन कमजोर भएको दाबी गर्दै आफू न राजावादी भएको न त राप्रपासँग सम्बन्धित भएको स्पष्ट पारे ।
‘म राष्ट्रवादी हुँ, राजावादी होइन,’ उनले भने ।
चैत १५ गतेको तीनकुने आन्दोलन राजावादी र राप्रपाले नै बिगारेको आरोप लगाउँदै उनले एमाले–माओवादीसँग मिलेर आन्दोलन भड्काइएको बताए ।
राजावादी र राप्रपाले राजालाई ‘ढ्याङ्ग्रो’ जस्तै चुनावमा प्रयोग मात्र गरेको भन्दै उनले २०७९ फागुन १ पछि मात्रै राजतन्त्रको एजेन्डा जनस्तरमा उठेको दाबी गरे ।
थुनामा रहँदा पनि राप्रपा नेताहरू नउत्रिएको गुनासो गर्दै उनले नयाँ दल राष्ट्रवादी आधारमा खोल्ने घोषणा गरे ।
‘म राजावादी होइन, नेपाल र नेपालीको पक्षमा राष्ट्रवादी दल बनाउँछु,’ प्रसाईंले भने ।






















