images
images
  • विद्यालाई बाइपास गरेपछि पोखरेलको फुर्ती बढ्यो, भने– अस्थिरताका रोगी पूर्वराष्ट्रपति, प्रचण्ड र कोइराला

    महेन्द्रनगर– नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकार ढल्ने हल्ला चलाउनेहरूलाई अस्थिरताका रोगीको संज्ञा दिएका छन् ।

    सोमबार प्रेस चौतारी नेपाल कञ्चनपुर समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस र एमालेबीच उच्चस्तरीय सहमतिका साथ गठबन्धन बनेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म यो सरकार स्थिर रहने दाबी गरे ।

    महासचिव पोखरेलले संसद् र राजनीतिक दलहरूप्रति विश्वास गर्न सबैमा आग्रह पनि गरे ।

    उनका अनुसार, ‘दुई ठूला दल मिलेर सरकार बनेको छ, स्थिरता देखिएको छ । तर, अस्थिरताको रोग लागेकाहरू ‘सरकार आज ढल्छ, भोलि ढल्छ’ भन्दै हल्ला फैलाइरहेका छन् ।’

    विशेषगरी कांग्रेस नेता शेखर कोइरा र विपक्षी प्रचण्डलालाई लक्षित गर्दै पोखरेलले भने कि सत्तामा हिस्सा खोज्ने र अर्कोतर्फ सरकारको विरोध गर्ने प्रवृत्ति अनैतिक हो ।

    उनले सूचनाको हक कुण्ठित गर्ने कुनै कानुन ल्याइने छैन र सञ्चार क्षेत्रलाई व्यवस्थित तथा सुरक्षित बनाउन मिडिया काउन्सिल विधेयक ल्याउने तयारी भइरहेको पनि बताए ।

    उनले भने, ‘संसद्ले सूचनाको हक कुण्ठित गर्ने कानुन बनाउँदैन, हामीले यहीमा विश्वास गर्नुपर्छ । अहिले स्वतन्त्रताको नाममा अराजकता बढेको छ, त्यसलाई नियन्त्रण गर्न खोजिएको हो । संविधानसँग बाझिने कुनै कानुन बन्दैन ।’

    महासचिव पोखरेलले सरकारमा सहभागी भएपछि त्यसको जिम्मेवारी लिनुपर्ने र सरकारमा हिस्सा खोज्ने क्रममा विरोध गर्ने प्रवृत्ति अनैतिक भएको पनि औँल्याए ।

    साथै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा पोखरेलले भने, ‘राष्ट्राध्यक्ष भइसकेपछि फेरि राजनीतिमा फर्किनु उचित हुँदैन । उनी सम्मानित भूमिकामा रहनुपर्छ । लोकतान्त्रिक मूल्य र संस्थागत विकास यससँग जोडिएको छ, व्यक्तिसँग होइन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images