काठमाडौं– लामो विवादपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई रूपन्देही कारागारबाट काठमाडौं सारिएको छ ।
शनिबार दिउँसो उनलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं ल्याइएको थियो ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा पुर्पक्षका लागि लामिछाने २५ चैत २०८१ देखि रुपन्देही जिल्ला कारागारमा थिए ।
उनले गत १४ जेठ २०८२ मा अड्डासारका लागि निवेदन दिएका थिए ।
अदालतले १६ जेठमै काठमाडौं उपत्यकाका कारागारमा सार्न सहमति दिए पनि गृह मन्त्रालय मातहतको कारागार विभागले निर्णय रोकेर राखेको थियो ।
रास्वपाले लामिछानेको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ को उपज भन्दै निरन्तर सडकदेखि सदनसम्म मुद्दा उठाउँदै आएको छ ।
अड्डासार रोकिनुमा पनि उसले राजनीतिक हस्तक्षेप देखेको थियो ।
तर, रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन तोकिएपछि लामिछाने त्यहीं रहनु पार्टीका लागि फाइदाजनक हुने बुझाइ रास्वपामा थियो ।
त्यसैअनुसार पार्टीले आफ्ना गतिविधि भैरहवा–बुटवलमै केन्द्रित गरेको थियो ।
उपसभापति डा.स्वर्णिम वाग्लेले समेत लामिछाने रुपन्देहीमै रहनुले चुनावी सन्देशलाई बल पुग्ने बताएका थिए ।
तर, अन्ततः सरकार पछिल्लो समय लचिलो बन्यो ।
संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिमा २८ साउनमा गृहमन्त्री रमेश लेखकले अदालतको अनुमति र रविको निवेदन दुवै रहेको भन्दै अड्डासारको प्रक्रिया अघि बढाइने स्पष्ट पारेका थिए ।
यसअघि राष्ट्रिय मानवअधिकार आयोगले रुपन्देही कारागारको अनुगमन गरी रविको बसाइ अवस्था नाजुक रहेको भन्दै ध्यानाकर्षण गराएको थियो ।
चौतर्फी दबाबपछि सरकारले उनलाई काठमाडौं स्थानान्तरण गर्ने निर्णय गरेको बुझिएको छ ।






















