images
images
  • एमालेमा रोक लगे पनि भण्डारी राजनीतिमा सक्रिय, देश दौडाहमा निस्किने तयारी

    काठमाडौं– नेकपा (एमाले)को निर्णय विपरीत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फेरि सक्रिय राजनैतिक भूमिकामा देखिन थालेकी छन् ।

    एमालेले उनलाई पुनः राजनीतिमा फर्कन रोक्ने निर्णय गरेको थियो ।

    तर, लामो मौनतापछि भण्डारी सामाजिक तथा राजनीतिक गतिविधि विस्तार गर्दै प्रदेश–प्रदेशमा भेटघाट र संवाद सुरू गरेकी हुन् ।

    सोमबार उनले विराटनगर पुगेर उद्घोष दैनिकको वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम तय गरेकी छन् ।

    यस क्रममा उनी स्थानीय नेताहरूसँग पनि राजनीतिक भेटघाट गर्ने तयारीमा छन् ।

    भेटघाटको संयोजन संस्थापनइतर नेताका रूपमा परिचित विनोद ढकालले गरिरहेका छन् ।

    यस्तै भदौ ६ वा ७ गते काठमाडौंमा तीजको अवसर पारेर भण्डारीले एमाले केन्द्रीय नेतृ–नेता तथा अखिल नेपाल महिला संघका पदाधिकारीलाई बोलाएर दरखुव र राजनीतिक संवाद गर्ने कार्यक्रम बनाएकी छिन् ।

    त्यसपछि भदौ दोस्रो सातातिर उनी वीरगञ्जमा महिला उद्यमीहरूसँग अन्तरक्रिया गर्ने योजनामा छिन् ।

    निकट सहयोगीहरूका अनुसार हालै कोशी र बागमतीमा भएको बैठक–भेलामा भण्डारीलाई रोक्नु नपर्ने आवाज बलियोसँग उठ्न थालेको छ ।

    एमालेको विधान महाधिवेशनलाई लक्षित गरेर भइरहेको तयारीबीच उनको सक्रियता झनै चासोको विषय बनेको छ ।

    यद्यपि सदस्यता नवीकरण नगरेकी भएकाले भण्डारीलाई महाधिवेशनमा प्रत्यक्ष सहभागी हुने अधिकार नहुनेछ ।

    उनी मात्र होइन, हालै पार्टी प्रवेश गरेका मुकुन्द न्यौपानेलगायत नेताहरू पनि आयोजकको भूमिकामा सीमित हुनेछन् ।

    पार्टी केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भण्डारी विराटनगर कार्यक्रममा जाने जानकारी पाएको पुष्टि गरे पनि अन्य राजनीतिक गतिविधिबारे भने पार्टीलाई अहिलेसम्म औपचारिक जानकारी नभएको स्पष्ट पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images