काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले १४ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् ।
अविश्वास प्रस्तावमार्फत बहादुरसिंह लामालाई हटाएर बनेका बानियाँले लामा पक्षका कसैलाई पनि मन्त्रीमा नसमेटेका हुन् ।
सरकारमा एमालेका ६ र कांग्रेसका ८ मन्त्री छन् ।
शुक्रबार सबै मन्त्रीको विभाग तोकिएको छ ।
कांग्रेसतर्फ शिवराज अधिकारी (आन्तरिक मामिला तथा कानुन), उर्मिला नेपाल (युवा तथा खेलकुद), कञ्चनचन्द्र बादे (सामाजिक विकास), प्रभात तामाङ (आर्थिक मामिला तथा योजना), सुरेश श्रेष्ठ (संस्कृति तथा पर्यटन), कृष्णकुमार तामाङ (खानेपानी, ऊर्जा तथा सिँचाइ) र बिनु रायमाझी पौडेल (सहकारी तथा गरिबी निवारण) बनेका छन् ।
लामा पक्षले देउवाको मध्यस्थतामा मन्त्री पदमा आफ्ना तीन प्रतिनिधि समावेश गर्ने सहमति भएको दाबी गर्दै बानियाँलाई ‘सहमति उल्लंघन’ गरेको आरोप लगाएका छन् ।
उनीहरूले अब सरकारका कामको मूल्यांकन गरेर मात्र समर्थन–विरोध गर्ने चेतावनी दिएका छन् ।
बानियाँ पक्षले भने लिखित सहमति नमान्ने लामालाई संसदीय दलबाट हटाइएकाले अहिले त्यस्तो सहमति लागू गर्ने प्रसंग नरहेको बताएको छ ।
दलका सचिव मीनकृष्ण महर्जनले देउवाको निर्देशनअनुसार नै मन्त्री नियुक्त गरिएको दाबी गरेका छन् ।


विश्व खबर 




















