images
images
  • नेकपा ब्युँताउन प्रचण्डभन्दा नेपाल, श्रेष्ठ र विप्लव सक्रिय

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पहलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको छ ।

    तीनवटै दलले भदौ मसान्तभित्र एकताको टुंगो लगाउने लक्ष्य राखेका छन् ।

    एकसाता पहिले शीर्ष तहको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवलाई क्रमशः अध्यक्ष र महासचिवको जिम्मेवारी दिने प्रस्तावमा प्रारम्भिक सहमति भएको नेताहरूले बताएका छन् ।

    पार्टीको नामका विषयमा पनि छलफल भइरहेको छ ।

    कानूनी अड्चन नपरे विगतमा असफल भएको एकताको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नै पुनः प्रयोग गर्ने तयारी छ ।

    माओवादी केन्द्रको स्थायी समिति बैठकले एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग संवाद तीव्र गर्ने र एकताको वातावरण बनाउन जिम्मेवारी दोस्रो तहका नेताहरूलाई दिने निर्णय गरिसकेको छ ।

    यस क्रममा केन्द्रदेखि प्रदेश तहसम्मको एकता खाका तयार भइसकेको भए पनि पद बाँडफाँट र सैद्धान्तिक मतभेदका कारण अन्तिम सहमति हुन बाँकी छ ।

    एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाले भदौ अन्तिम सातामा शीर्ष तहका बैठक बोलाएर एकताको निर्णय गर्ने तयारी गरिरहेका छन् ।

    यसपटकको प्रक्रियामा, एमाले–माओवादी केन्द्रबीचको अघिल्लो हतारको एकता असफल भएको अनुभवलाई ध्यानमा राख्दै पद व्यवस्थापन, सैद्धान्तिक सहमति र नेताहरूबीचको सामञ्जस्यलाई प्राथमिकता दिइएको छ ।

    माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरी एकता सम्भावनाबारे छलफल गरेका छन् ।

    उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् र त्यसपछि निरन्तर विभिन्न नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

    सिद्धान्तका हिसाबले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच केही दूरी रहे पनि व्यवहारिक राजनीति र संगठनात्मक सन्तुलनका आधारमा दुवै दल नजिक रहेका छन् ।

    माधवकुमार नेपालले सैद्धान्तिक मतभेद स्वीकार गर्दै पनि राजनीतिक रूपमा बलियो वाम शक्ति निर्माणका लागि संवाद जारी राखेको बताएका छन् ।

    स्रोतहरूका अनुसार, एमालेभित्रको असन्तुष्टि पूर्वराष्ट्रपति भण्डारीसँग जोडिएको भएकाले, प्रचण्ड नेतृत्वका साना वाम दलहरूले भण्डारीसँग परामर्श गर्दै पार्टी एकता अघि बढाउने र

    एमालेलाई कमजोर बनाउने रणनीति तयार पारेका छन् ।

    प्रचण्ड र माधव नेपाल दुवै भण्डारीलाई साझा नेतृत्वको केन्द्रमा ल्याएर वामपन्थीहरूलाई एकताबद्ध गर्न सक्ने अपेक्षा राखेका छन् ।

    जसबाट एमालेभित्रको द्वन्द्व कमजोर पार्दै नयाँ, शक्तिशाली कम्युनिस्ट शक्ति निर्माण गर्ने लक्ष्य रहेको वाम नेताहरूको विश्लेषण छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images