images
images
  • वामदेवलाई पदीय जिम्मेवारी दिन नेकपा (एस)को बैठक बस्दै, झाँक्रीमाथि कारबाही होला ?

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार बिहान ११ बजेपछि पार्टी कार्यालय आलोकनगरमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

    बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको पहलमा डाकिएको हो ।

    आन्तरिक विवादमा रुमल्लिएको एकीकृत समाजवादीले यसअघि भदौ ७ र ८ गतेको लागि तोकेको केन्द्रीय समिति बैठक स्थगित गर्दै भदौ २७ र २८ मा सारिसकेको छ ।

    उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार शुक्रबारको सचिवालय बैठकमा नेता वामदेव गौतमको जिम्मेवारी तोक्ने विषय, नेतृ रामकुमारी झाँक्रीको आत्मालोचना, वामपन्थी दलहरूसँग एकता तथा सहकार्यमा भएको प्रगति र अन्य समसामयिक विषयमा छलफल हुनेछ ।

    यसअघि नेतृ झाँक्रीले अध्यक्ष माधव नेपालको नेतृत्व क्षमतामाथि टिप्पणी गर्दै कटाक्ष गरेकी थिइन् ।

    उनका केही अभिव्यक्तिप्रति नेताहरूले आपत्ति जनाएपछि उनलाई लिखित आत्मालोचना गर्न निर्देशन दिइएको थियो ।

    उनले लिखित रूपमा आत्मालोचना गरेकी भएकाले, बैठकमा उनलाई चेतावनी दिई भविष्यमामा यस्ता अभिव्यक्ति नदिने सर्तमा क्षमादान दिने तयारी भएको बताइएको छ ।

    त्यस्तै, हालै पार्टी प्रवेश गरेका नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमको जिम्मेवारीबारे पनि बैठकमा छलफल हुनेछ ।

    गौतमले संगठन विभागको जिम्मेवारी पाउने इच्छा व्यक्त गरे पनि हाल उक्त जिम्मेवारी सम्हालिरहेका नेता वेदुराम भुसालले तत्काल पद छाड्न अनिच्छा देखाएकाले विवाद चर्किएको छ ।

    गौतम यसअघि गत साउन २ गते एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images