काठमाडौं– प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस तयार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्रीहरूको संरचना फेरबदल गर्ने तयारी थालेका छन् ।
सरकार गठन भएको करिब एक वर्षपछि मन्त्री फेरबदलको योजना बनाइरहेका ओलीले कांग्रेसका मन्त्रीहरू तत्काल परिवर्तन गर्न नसकिने भएपछि एमाले, जसपा र लोसपाका मन्त्रीहरूको फेरबदलमा ध्यान केन्द्रित गरेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री फिर्ता बोलाउँदा पार्टीभित्र विवाद बढ्न सक्ने भन्दै तत्काल कदम चाल्न असमर्थता देखाएकोले ओलीले यो रणनीति अपनाएका हुन् ।
प्रधानमन्त्री ओलीले भारत भ्रमणअघि नै मन्त्रीहरू परिवर्तन गर्ने योजना बनाइरहेका छन् ।
एमालेतर्फ, अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वी सुव्वा गुरुङ, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा मन्त्री रघुजी पन्तलाई निरन्तरता दिने तयारी गरिएको छ ।
त्यस्तै, उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई र सहकारी मन्त्री बलराम अधिकारीलाई फेरबदल गर्ने योजना बनाइएको छ ।
लोसपाबाट श्रम मन्त्री शरदसिंह भण्डारीको स्थानमा सवेन्द्रनाथ शुक्ला नियुक्त गर्ने र जसपाबाट प्रदीप यादव तथा महिला मन्त्री नवलकिशोर साह सुडीको सट्टा डा. वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएका छन् ।
ओली भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम तय गरिएको छ ।






















