काठमाडौं– प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस तयार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलका मन्त्रीहरू परिवर्तन गर्ने तयारी थालेका छन् ।
सरकार गठन भएको एक वर्षपछि मन्त्री फेरबदल गर्ने तयारीमा रहेका ओलीले कांग्रेसबाट सहभागी मन्त्रीहरूलाई तत्काल परिवर्तन गर्न नसकिने भएपछि एमाले, जसपा र लोसपाका मन्त्रीहरूको फेरबदलतर्फ ध्यान दिन थालेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री फिर्ता बोलाउँदा पार्टीभित्र विवाद बढ्न सक्ने भन्दै तत्काल परिवर्तन गर्न असमर्थता जनाएपछि यस्तो निर्णय भएको हो ।
प्रधानमन्त्री ओलीले भारत भ्रमण अगाडि नै मन्त्री परिवर्तन गर्ने तयारी थालेका छन् । भदौ ३१ गते उनी भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ ।
एमालेबाट अर्थमन्त्री विष्णु पौडेल, सञ्चार मन्त्री पृथ्वी सुव्बा गुरुङ, सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने र शिक्षा मन्त्री रघुजी पन्तलाई निरन्तरता दिने योजना छ ।
अन्य मन्त्रीहरू जस्तै उद्योगमन्त्री दामोदर भण्डारी, रक्षामन्त्री मानवीर राई र सहकारी मन्त्री बलराम अधिकारीलाई परिवर्तन गर्ने तयारी छ ।
लोसपाबाट श्रम मन्त्री शरदसिंह भण्डारीको सट्टा सवेन्द्रनाथ शुक्लालाई मन्त्री बनाउने र जसपाबाट प्रदीप यादव र महिला मन्त्री नवलकिशोर साह सुडीको सट्टा डा.वीरेन्द्र महतो र मञ्जु झालाई मन्त्री बनाउने तयारी भइरहेको स्रोतले जनाएका छन् ।






















