images
images
  • कोइराला, भण्डारी, शर्मा र खनाल पार्टीको नीति मान्छन् नेतृत्व मान्दैनन् किन ?

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच मंगलबार भएको भेटमा एउटा असामान्य सहमति भयो ।

    अबदेखि एकअर्काविरुद्ध सार्वजनिक रूपमा नबोल्ने ।

    पार्टी नीति र संगठनका विषयमा नियमित संवाद गर्नुपर्ने यी नेताहरूबीचको यो सहमति राजनीतिक वृत्तमा चासोको विषय बन्यो ।

    यस्तै अवस्था नेपाली कांग्रेसमा पनि देखिन्छ ।

    सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच हुने हरेक भेटमा आन्तरिक मुद्दा समाधानभन्दा बढी व्यक्तिगत असन्तुष्टि र गुनासोको आदानप्रदान हुने बताइन्छ ।

    नेकपा (एमाले)देखि माओवादी केन्द्रसम्मका शीर्ष नेताहरूबीचको भेटघाट पनि प्रायः पार्टी सुदृढीकरणभन्दा आपसी तिक्तता पोख्ने वा रोक्ने प्रयोजनमा सीमित देखिन्छ, जसले दलभित्रको गहिरो अविश्वास उजागर गर्छ ।

    केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीच भेट भएको थियो ।

    एमालेमा अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको पार्टी कार्यालयमा भएको भेट भयो ।

    दुवै आन्तरिक शक्ति समीकरण र अविश्वासकै दृष्टिले विश्लेषण गरिए ।

    यो प्रवृत्ति केवल एउटै दलमा सीमित छैन ।

    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्र पनि अध्यक्ष महन्थ ठाकुर र नेता अनिलकुमार झाबीचको कलह मंगलबार खुलेआम भयो ।

    अन्ततः झाले पार्टी छाडेर सद्भावना पार्टी ब्युँतताए ।

    जसलाई नेताहरूले आपसी अविश्वासकै चरम परिणाम माने ।

    राजनीतिक दलहरूमा विमति समाधान गर्ने औपचारिक बैठक र संरचना भए पनि नेताहरू होटल, व्यापारीको घर वा मिडियामा पुगेर आरोप–प्रत्यारोप गर्ने चलन बढ्दो छ ।

    यसले आन्तरिक अनुशासनभन्दा अनौपचारिक शक्ति–सम्झौताहरूलाई प्राथमिकता दिने संस्कारलाई संस्थागत गरिरहेको छ ।

    यो समस्या अब प्रदेश राजनीतिमा पनि देखिन थालेको छ ।

    उदाहरणका लागि, बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने विषय सत्ता–साझेदारीको नीति वा पार्टीको आधिकारिक निर्णयभन्दा इन्द्रबहादुर बानियाँ र बहादुरसिंह लामा

    समूहबीचको सम्झौता वा द्वन्द्वको परिणामजस्तो देखियो ।

    राजनीतिक विश्लेषकहरूका अनुसार पार्टीभित्रको संरचनात्मक र नीतिगत अविश्वास, फरक गुटहरूको स्थायीकरण र साझा नेतृत्वप्रति कमजोर प्रतिबद्धता यस संकटका मूल कारण हुन् ।

    स्वाभाविक लोकतान्त्रिक बहस र मतभिन्नतालाई संवादमार्फत समाधान गर्नुको साटो, नेताहरू प्रतिपक्षीजस्तो व्यवहार गर्दै भेटघाट नै समाचार बन्ने अवस्थासम्म पुगेका छन् ।

    राजनीतिक विश्लेषक सुबोधराज प्याकुरेल भन्छन्, ‘महाधिवेशनमा बनेका गुट स्थायी बन्दै गएपछि एउटै दलका जिम्मेवार नेताहरू पनि आपसी अविश्वासका कारण प्रतिपक्षीजस्तो देखिन थालेका छन् ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images