काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’) र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताको सम्भावनाबारे अनौपचारिक संवाद तीव्र भएको छ ।
समाजवादी मोर्चामा रहेका दुवै दलबीच लामो समयदेखि चलिरहेको छलफल पछिल्लो भेटघाटसँगै सक्रिय बनेको हो ।
एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले भेटघाटलाई औपचारिक वार्ता नभई सम्बन्ध सुधार र सम्भावना खोजीको प्रक्रिया मात्र भएको बताए ।
उनका अनुसार कार्यकर्ताको मनोविज्ञान बुझ्न र सौहार्दपूर्ण वातावरण विकास गर्न दुवै पक्षले पहल गरिरहेका छन् ।
माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले समाजवादी मोर्चाका दलहरूलाई एकतामा रुपान्तरण गर्ने सोचअनुसार संवाद भइरहेको बताए ।
मंगलबार पेरिसडाँडामा दुवै अध्यक्षबीच सातै प्रदेशका इन्चार्जसँग समेत एकताको विषयमा छलफल भएको उनले जानकारी दिए ।






















