काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै हालैको तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएका छन् ।
यसका साथै उनले सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सांसदहरूमाथि टिप्पणी गरेका छन् ।
ओलीले संसदमा सरकारको कामबारे बहस हुनुपर्नेमा गालीगलौज र उत्तेजना फैलाउने प्रयास भइरहेको भन्दै असन्तुष्टि जनाए ।
उनले भने, ‘देश र जनताको हितमा केन्द्रित बहस हुनुपर्छ, तर अहिले संसद् झुठा कथा सिर्जना गरेर सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने स्थल जस्तो बनेको छ ।’
सहकारी बचत हिनामिनामा मुद्दा चलिरहेका सयौं व्यक्तिमध्ये मात्र लामिछानेमाथि प्रतिशोध भएको दाबी अस्वीकार गर्दै ओलीले कानुनी प्रक्रिया अवमूल्यन गर्न खोजिएको बताए ।
उनले अदालतले थुनामा राखेका अन्य पूर्वसांसद, मेयर, मन्त्रीहरूका मुद्दा समेत न्यायिक प्रक्रिया अन्तर्गत भएको स्मरण गराए ।
प्रधानमन्त्री ओलीले लोकतान्त्रिक प्रणालीको रक्षा आवश्यक रहेको भन्दै, विदेश गएर भिजिट भिसामा नागरिकता लिएर मन्त्री भएका र दोहोरो विवाह गरेका व्यक्तिहरूबारे पनि प्रश्न उठाए ।






















