काठमाडौं– सरकारले चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त गरेको छ ।
प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.विक्रमप्रसाद श्रेष्ठ, कर्णालीमा डा.पुजनकुमार रोकाया, पाटनमा प्रा.बुद्धि पौडेल र पोखरामा डा.भरत खत्रीलाई नियुक्तिपत्र प्रदान गरेका हुन् ।
असार ४ गते स्वास्थ्य मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बनेको सर्च कमिटीमार्फत आवेदन आह्वान गर्दा ५५ मध्ये ४५ जनाबीच प्रतिस्पर्धा भएको थियो ।
समितिमा स्वास्थ्य सचिव डा.विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा.आरपी बिच्छा सदस्य थिए ।
नियुक्ति राजनीतिक भागबन्डाअनुसार भएको बताइएको छ ।
पाटन र पोखरा प्रतिष्ठान नेकपा (एमाले), बीपी कोइराला र कर्णाली प्रतिष्ठान नेपाली कांग्रेसको भागमा परेको छ ।
पौडेल र खत्री एमाले निकट, जबकि श्रेष्ठ र रोकाया कांग्रेस निकट मानिन्छन् ।






















