काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूबीच पार्टी एकताको वैचारिक र सैद्धान्तिक आधारबारे मंगलबार पेरिसडाँडास्थित माओवादीको केन्द्रीय कार्यालयमा छलफल सम्पन्न भएको छ ।
पछिल्लो समय यी दुई दलका नेताहरू पार्टी एकताको विषयमा लगातार संवादमा रहेका छन् ।
आजको छलफलमा दुवै पक्षले वैचारिक तथा सैद्धान्तिक पक्षसँगै संगठन विस्तार र आपसी सम्बन्धबारे समेत आपसी विचारविमर्श गरेका छन् ।
माओवादीका सचिव देवेन्द्र पौडेलका अनुसार दुवै पार्टीले प्रदेश तहमा समेत एकताको विषयमा छलफल गरिरहेका छन् ।
तर, हालसम्म पार्टी एकताको विषयमा कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन ।
देवेन्द्र पौडेलले भने, ‘हामी समाजवादी मोर्चामा आबद्ध दलहरू भएकाले मोर्चाको भावी गतिविधि र पार्टी एकताको आधारबारे विस्तृत छलफल भयो । तर, अहिले वा भोलि तत्काल एकता गर्ने निर्णय भने भएका छैनन् ।’
माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष अग्नि सापकोटा, महासचिव देव गुरुङ, उपमहासचिव दिनानाथ शर्मा र सचिव देवेन्द्र पौडेल सहभागी थिए ।
एकीकृत समाजवादीबाट वरिष्ठ नेता डा.बेदुराम भुसाल र प्रमेश हमाल लगायत नेताहरू छलफलमा उपस्थित थिए ।






















