
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिँदैछन् ।
उनले अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ ।
तर, निवर्तमान मुख्यमन्त्री बहादुर लामा पक्षले आफ्नो अडान नछाड्दा मुख्यमन्त्री बानियाँ अप्ठ्यारोमा परेका छन् ।
लामासहित कांग्रेसका १४ सांसद यतिबेला काठमाडौंमै छन् ।
लामाले आफू मुख्यमन्त्री हुँदा नियुक्त गरेको तीन मन्त्रीलाई शपथ गराउनुपर्ने अडान राखेका छन् ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवासहित बसेको बैठकमा बानियाँले तीन मन्त्रीको शपथ गराउने बताएपछि लामाले राजीनामा दिएका थिए ।
तर, बानियाँले सहमति कार्यान्वयन नगरेपछि लामा समूह रुष्ट छ ।
लामाले साउन १४ गते गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।
लामाले लम्साललाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
बानियाँले सहमति लत्त्याएको भन्दै सभापति देउवाको निर्देशन समेत नमानी लामा समूह अहिलेसम्म काठमाडौंमै छ ।
मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम भए पनि आफूहरू काठमाडौंमा रहेको लामा समूहका सांसद गोविन्द लम्सालले बताए ।
प्रतिक्रिया दिनुहोस्