images
images
  • बागमतीमा बानियाँको मुख्यमन्त्री पद संकटमा, विश्वासको मत नदिने पक्षमा लामा समूह

    काठमाडौं– बागमती कांग्रेसभित्रको आन्तरिक विवादले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई विश्वासको मत लिन चुनौती सिर्जना गरेको छ ।

    बहादुरसिंह लामालाई हटाएर २० साउनमा नियुक्त भएका बानियाँ आज (मंगलबार) विश्वासको मत लिने तयारीमा छन् ।

    सत्तारूढ कांग्रेस–एमालेबीचको समझदारीअनुसार पहिलो दुई वर्ष कांग्रेसको नेतृत्व रहने भएपछि लामा एक वर्षअघि मुख्यमन्त्री बनेका थिए ।

    तर, पार्टीभित्रको शक्ति संघर्षका कारण उनी पदमुक्त भए ।

    बानियाँ समूहले लामालाई संसदीय दलको नेताबाट हटाएपछि १८ साउनमा उनले राजीनामा दिए ।

    देउवाको मध्यस्थतामा लामा–बानियाँबीच लामा नियुक्त तर शपथ नलिएका तीन मन्त्रीलाई निरन्तरता दिने सहमति भएको थियो ।

    उनीहरू लामा निकटका हुन् ।

    हाल १४ मन्त्रालयमध्ये कांग्रेसका भागमा ८ र एमालेका भागमा ६ मन्त्रालय छन् ।

    एमालेले सबै मन्त्री पठाइसकेको छ भने कांग्रेसले दुई मन्त्री मात्र पठाएको छ । उनीहरू दुवै बानियाँ निकट मानिन्छन् ।

    लामा पक्षले आफ्ना तीन मन्त्रीको नियुक्ति नभएसम्म विश्वासको मत नदिने चेतावनी दिएको छ ।

    ११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक छ ।

    कांग्रेसका ३७ र एमालेका २४ मत भए पनि कांग्रेसभित्र १४ सांसद असन्तुष्ट छन् ।

    असन्तुष्ट पक्ष सहमतिमा नआए बानियाँको पद संकटमा पर्न सक्छ ।

    बानियाँ पक्ष भने ह्वीप लागू भएकाले विश्वासको मत पक्का हुने दाबी गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्

    images