काठमाडौं– नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।
दुवै नेताले वर्तमान राजनीतिक परिस्थितिको समीक्षा गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सक्रिय भूमिका र आवश्यक कदमबारे छलफल गरेका छन् ।
भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धि संरक्षण र समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न नयाँ पहल गर्नुपर्नेमा जोड दिइएको छ ।
साथै, आ–आफ्ना कमजोरीको आत्मालोचना गर्दै एकताबद्ध भएर अघि बढ्ने विषयमा पनि चर्चा भएको बताइएको छ ।
यसअघि श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अन्य नेताहरू नेत्रविक्रम चन्द ‘विप्लव’, घनश्याम भुसाल र झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
यद्यपि हालसम्म उनले दलीय एकताका लागि गरेको प्रयासले सार्थकता पाउन सकेको छैन ।






















