काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले ४, ५ र ७–८ भदौमा हुने भनिएका स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय समिति बैठक चाडपर्वको कारण भन्दै २० दिन पछि सार्ने सूचना पठाएका छन् ।
तर, पार्टीभित्र यसलाई प्राविधिकभन्दा राजनीतिक कारण बढी भएको ठानिन्छ ।
अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच शनिबार भएको डेढ घण्टाको भेट वार्ताले कुनै निष्कर्ष नदिएपछि बैठक सारिएको बताइन्छ ।
असारमा खनालले माधव नेपाललाई पतञ्जली जग्गा मुद्दाका कारण अध्यक्ष पद छोड्ने प्रस्ताव राखेपछि दुवै नेताबीच आरोप–प्रत्यारोप चर्किएको हो ।
खनाल पक्षले नेतृत्व परिवर्तनलाई आवश्यक ठान्छ भने नेपाल पक्ष कुनै हालतमा पद नछोड्ने अडानमा छ ।
केही नेताले दुवैले पद छोडेर तेस्रो व्यक्ति नेतृत्वमा आउनुपर्ने सुझाव दिएका छन् ।
युवा र विद्यार्थी संगठनदेखि अन्य जनसंगठनसम्म दुई गुटमा विभाजित हुँदै समानान्तर संरचना बनेका छन् ।
यी गतिविधिलाई खनालको समर्थन रहेको आरोप नेपाल पक्षको छ ।
यस्तो अवस्थामा पार्टीभित्रको विवाद समाधान हुने संकेत देखिएको छैन र विभाजनको खतरा बढ्दो छ ।






















