काठमाडौं– रुपन्देही–३ मा कार्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा (एमाले)बाट चार नेताले उम्मेदवारीको आकांक्षा देखाएका छन् ।
शुक्रबार भैरहवामा बसेको क्षेत्रीय समन्वय कमिटी बैठकमा पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशी पौडेल, सिद्धार्थनगरका पूर्व मेयर तथा प्रदेश सदस्य हरिप्रसाद अधिकारी र
केन्द्रीय विभाग सदस्य यज्ञजित शाह (पूर्व प्रधानमन्त्री डा.केआई सिंहका छोरा)ले औपचारिक आकांक्षा व्यक्त गरेका हुन् ।
एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिए पनि अहिलेसम्म महिलाले आकांक्षा देखाएका छैनन् ।
जिल्ला कमिटीले भदौ १५ भित्र दुई पुरुष र एक महिलाको नाम पठाउने तयारी गरेको छ ।
यद्यपि केन्द्रीय विभाग सदस्य यज्ञजित शाह (पूर्व प्रधानमन्त्री डा.केआई सिंहका छोरा)ले अध्यक्ष केपी शर्मा ओलीको आशीर्वाद पाउने सम्भावना प्रवल रहेको स्रोत बताउँछ ।
२०७९ को चुनावमा एमालेले राप्रपाका दीपक बोहरालाई समर्थन गरेको थियो ।
बोहराको २०८१ चैत १९ मा निधन भएपछि सिट खाली भएको हो ।
यस उपनिर्वाचनलाई एमाले, रास्वपा, नेपाली कांग्रेसलगायत दलले प्रतिष्ठाको रूपमा लिएका छन् ।






















